आमाको सम्झनामा अम्बे फर्निसिङ्गका पंकज श्रेष्ठले बिमानस्थलमा ‘स्तनपान कक्ष’ बनाइदिए


तस्वीर : अवधपोष्ट

नेपालगन्ज, २१ बैशाख : आमाको मुख हेर्ने दिनको अवसर पारेर नेपालगन्जस्थित अम्बे फर्निसिङ गार्डेनले राँझा विमानस्थलमा स्तनपान कक्ष स्थापना गरेको छ । यात्राका क्रममा हरेक आमाहरुलाई आफ्ना सन्तानलाई सहज तरिकाले स्तनपान गराउन मद्दत मिलोस् भन्ने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको अम्बे फर्निसिङ गार्डेनका प्रोपराईटर पंकज श्रेष्ठले जानकारी दिए ।

स्तनपान कक्षमा सोफा, पंखा लगायतका सामाग्रीहरु राखिसकिएको छ । चाँडै नै औपचारिकरुपमा स्तनपान कक्षको उद्घाटन गर्ने तयारी भईरहेको श्रेष्ठले बताए । आफ्नी स्वर्गीय आमा अन्जु कुमारी श्रेष्ठको सम्झनामा प्रत्येक बर्ष कम्तिमा दुईवटा सार्वजनिक स्थानमा स्तनपान कक्ष बनाउने सोंच आफूले बनाएको पनि प्रोपराईटर श्रेष्ठको भनाई छ । अम्बे फर्निसिङ गार्डेनले चलाएको ‘अ लिटिल थिङ्स वी डु’ सामाजिक अभियान अन्तरगत राँझा विमानस्थलमा स्थापना गरिएको स्तनपान कक्ष पहिलो हो ।

प्रकाशित मितिः     २१ बैशाख २०७६, शनिबार २०:४७  |