‘नीति तथा कार्यक्रमले आर्थिक विकासको ढोका खोल्छ’


नेपालगञ्ज, बैशाख २३ गते : बाँकेका उद्योगी ब्यबसायीहरुले सरकारको निति तथा कार्यक्रममा आर्थिक विकासका लागि पूर्वाधार विकासलाई बिशेष प्राथमिकतामा राखिनु देशको समृद्धिका लागि राम्रो संकेत भएको प्रतिक्रिया दिएका छन् ।  राष्ट्रपति विद्या भण्डारीले संसदमा प्रस्तुत गर्नु भएको सरकारको निति तथा कार्यक्रमलाई उनिहरुले निकै आकर्षक र देशलाई आर्थिक रुपमा धेरै अगाडी लैजाने खालको भएको जनाउँदै तर, कार्यान्वयनमा भने बिशेष ध्यान दिनु पर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले धेरै बर्षपछि बनेको स्थायी सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रम समग्रमा देशको आर्थिक विकासमा केन्द्रित रहेको बताउनु भयो । उहाँले यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन कुनै भूल गरिएन भने देशले छिटै दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्ने दावी गर्नु भयो ।  निति तथा कार्यक्रमले कृषि, सिंचाई र उर्जाको विकासमा पनि बिशेष ध्यान दिएको जनाउँदै उहाँले त्यसमा औद्योगिक क्षेत्रको निर्माणदेखि उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन तथा लगानीमा बिशेष जोड दिईएको बताउनु भयो । आर्थिक विकासका लागि पूर्वाधार विकास अतिआवश्यक हुँदा सरकारले पूर्वाधार विकासमा धेरै जोड दिएकोले आर्थिक विकास निश्चित रहेको केन्द्रिय सदस्य श्रेष्ठले बताउनु भयो ।

यस्तै नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सरकारको निति तथा कार्यक्रम खुशी नेपाली सुखी नेपाल भन्ने नारामा केन्द्रित रहेको पाईएको जनाउँदै यसलाई सही तरिकाले कार्यान्वयन गर्ने हो भने देशले आर्थिक क्षेत्रमा ठुलो फड्को मार्ने बताउनु भयो । ‘यो निति तथा कार्यक्रम कार्यान्वयन भयो भने साच्चिकै देशले आर्थिक विकास गरेर गरिबी घटाउन ठुलो सहयोग पुग्नेछ, तर कार्यान्वयनमा बिशेष ध्यान दिनु आवश्यक छ’–अध्यक्ष वैश्यले भन्नुभयो । प्रत्येक पालिकामा औद्योगिक ग्राम बनाउने कुरा सबैभन्दा सराहनीय रहेको अध्यक्ष वैशयको भनाई छ । उहाँले लगानीलाई सहकार्यका आधारमा प्रोत्साहन गर्ने तथा उद्योग व्यवसाय फस्टाउने नितिहरु निर्माण गरिने कुरा समेत कार्यक्रममा उल्लेख गरिएकोले उद्योगी व्यवसायी उत्साहित भएको बताउनु भयो ।

सोही प्रकारले नेपालगञ्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष अब्दुल वाहीद मन्सरीले बढी भन्दा बढी रोजगारी सृजना गर्ने कुराले नै ठुला ठुला लगानीका उद्योग, कलकारखाना र आयोजनाहरु सञ्चालन गरिने कुराको पुष्टि गरेको जनाउँदै यसले देशलाई तिव्र रुपमा समृद्धितर्फ बढाउने बताउनु भयो । उहाँले सरकारले यीनै कुराहरुलाई ध्यानमा राखेर बजेट पनि प्रस्तुत गर्न सक्ने हो भने आर्थिक विकास देशको पहुँचबाट टाढा नरहने दावी गर्नुभयो । उद्योग, ब्यबसाय, कलकारखाना फस्टाउन नसक्दा सबै युवाशक्ती बिदेश पलायन भैरहेको जनाउँदै उहाँले अहिले देशका उद्योगी ब्यबसायीको सबै भन्दा ठुलो समस्या भनेको उर्जा संकट भएकोले सरकारले उर्जा र सिंचाईलाई बिशेष प्राथमिकतामा राखेकोले धेरै आशा पलाएको बताउनु भयो । बाँकेका अधिकांश आर्थिक क्षेत्रका अगुवाहरुले निति तथा कार्यक्रम उत्कृष्ट रहेको जनाउँदै कार्यान्वयनमा बिशेष ध्यान दिनु पर्ने सुझाव दिएका छन् ।

प्रकाशित मितिः     २३ बैशाख २०७६, सोमबार १३:०९  |