भार्गव विकास बैंक शाइन रेसुङ्गासंग गाभिने सम्झौता,बैंकको पुँजी २ अर्ब ६७ करोड पुग्दै


बाँके १ जेठ : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले भार्गव विकास बैंकलाई एक्वायर (प्राप्ती)गर्ने भएको छ। नेपालगन्जको भार्गव विकास बैंक र बुटवलमा प्रधान कार्याय रहेको शाइन रेसुङ्गा विकास बैंकबीच मंगलबार  ‘एमओयु’मा हस्ताक्षर भएको छ । मंगलबार रुपन्देहीको मणिग्राममा भार्गव विकास बैंक लिमिटेडका तर्फवाट समितिका अध्यक्ष डम्बर बहादुर थापाले र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड तर्फवाट समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले एमओयुमा हस्ताक्षर गर्नुभयो ।

भार्र्गव हाल बाँके, बर्दिया र दाङ्ग जिल्लामा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । त्यस्तै शाइनका रुपन्देही, अर्घाखांची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ्ग, प्यूठान, बाग्लुङ्ग र चितवन गरी १० जिल्लामा कार्यक्षेत्र भएको “ख” वर्गको बिकास बैंकका रुपमा रहेको छ । शाइनले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग अनुसार सैद्धान्तिक सहमति प्राप्त गरी सकेको छ ।

‘देशको बैंकिङ्ग क्षेत्रमा विद्यमान प्रतिस्पर्धात्मक अवस्था, नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति नियमहरुले भविष्यमा पार्न सक्ने असरहरु, नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको बैंक तथा वित्तीय संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धि प्रोत्साहन र सुविधाहरु, बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति (एक्विजिशन) भएपछि प्राप्त हुने अवसरहरु लगायतका तथ्यहरु मनन गरी दुवै पक्षको कारोवार तथा वित्तीय सेवाको दायरालाई थप विस्तार हुनेछ,’ संझौता पत्रमा उल्लेख गरिएको छ,–‘सवल, सुदृढ र उत्कृष्ट वित्तीय संस्थाको रुपमा शेयरधनीहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुको हितमा कार्य गर्ने, दुवै पक्षको स्थानीय पहुँच, विश्वासनियता, अनुभव र क्षमतालाई अधिकतम उपयोग गर्दे थप उपलब्धीमूलक र प्रभावकारी रुपमा अघि बढाउने हाम्रो मूख्य उद्देश्य रहेकोछ ।

सम्झौता अनुसार प्राप्ति पछिको वित्तीय संस्थाको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, बुटवल उपमहानगरपालिका वडा नं. ६ मा केन्द्रीय कार्यालय रहने सञ्चालक समितिको अध्यक्षमा हाल शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ नै रहनु हुने छ । असार मसान्त सम्ममा दुवै बैक मर्जिगंको प्रकृया पुरा हुने भार्गव विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जोशीले बताउनुभयो । त्यस्तै संस्थाको प्रमुख कार्यकारी अधिकृतमा हाल शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल रहनु हुने छ भने भार्गव विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी नायव कार्यकारी प्रमुख रहनु हुने छ । प्राप्ती पछिको बैँकको चुक्ता पूँजी २ अर्व ६७ करोड ५४ लाख, निक्षेप परिचालन २३ अर्व ६६ करोड ८१ लाख र कर्जा लगानी २१ अर्व २९ करोड ३८ लाख हुनेछ । बैकको केन्द्रीय कार्यालय सहित ६८ शाखा कार्यालय तथा १ एक्सटेन्सन कार्यालय रहनेछन् ।

प्रकाशित मितिः     १ जेष्ठ २०७६, बुधबार १३:०९  |