‘लागुऔषधका अभियुक्तलाई छुटाउन चारघण्टा बन्धक बनाइयो’


बाँके ४ जेठ : शुक्रबार चारबजेतिर प्रहरीले बाँकेको नरैनापुरमा पाँच किलो चरेश सहित भारतीय नागरिक देवदिन बिकलाई पक्राउ ग¥यो । स्थानीयस्तरमा ब्यापारिकारुपमा चिनिने बिक पक्राउ परेपछि छुटाउन स्थानीय र भारतीय नागरिकहरु समेत प्रहरीसंग बाझाबाझ गर्न थाले । थोरै संख्यामा प्रहरी देखेपछि उत्तेजित बनेको भिडले प्रहरी माथि आक्रमण गर्यो । एउटा जिप र मोटरसाईकलमा आगो लगाएर जलायो भने ढुङ्गामुढा गरेर प्रहरी चौकी क्षतीग्रस्त भयो ।

ठिक त्यही समयमा दिनभर आफ्नो निर्वाचनक्षेत्रमा भए गरेका विकास निर्माणका कामको अनुगमन र जनतासंग अन्तरक्रिया गर्दै प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ त्यहाँ पुगिन । सांसद नमुनालाई देखेपछि भिडले लागुऔषध सहित पक्राउ परेकालाई छुटाईदिन चर्को माग ग¥यो । सांसद नमुनाले घटनाका बारेमा बुझ्ने आश्वासन दिईन । ‘राज्य संयन्त्रले आफ्नो तरिकाले काम गर्छ । मैले छुटा भन्ने बित्तिकै छुटाउने कुरा भएन । तर यदि कोही निर्दोस छ भने कुरा गर्छु भन्दा पनि भिडले मानेनन ।’ सांसद नमुनाले शनिबार नेपालगन्जमा पत्रकारसंग भनिन्–‘मैले यति भन्दा पनि नमानेपछि उल्टो नछुटाएसम्म तपाईहरुलाई जान दिन्नौ पो भन्न थाले ।’

उक्त भिडले सांसद नमुनाको टोलीलाई ‘तस्कर नछुटाएसम्म’ बन्धक बनाउने भन्दै अवरोध सिर्जना गर्यो । भिडले सांसद सहित नेता सुर्य घर्तीमगर, पत्रकार गजेन्द्र गुरुङ्ग, कृष्ण ओली सवार गाडीको टायरबाट हावा फुस्काईदियो । यो घटनापछि प्रहरीले सांसदको टोलीलाई गाउँपालिकाको कार्यालयमा लगेर सुरक्षा दियो । जहाँ गाउँपालिका अध्यक्ष मोहमद ईस्तियाक अहमद समेत थिए । उनले सम्झाउँदा समेत भिडले मानेन् । प्रहरीलाई आफ्नो र सांसदको टोलीलाई जोगाउन मुस्किल पर्यो । दुई दर्जन बढि दरबन्दी रहेकोमा त्यहाँ चार जना प्रहरी मात्र कार्यरत थिए । उनीहरुले हवाई फायर गर्दै सांसदको टोलीको ज्यान जोगाए । सशस्त्र प्रहरीको ब्याकअप र नेपालगन्जबाट प्रहरी जाँदासम्म उनीहरुले नै भिडे ।

शुक्रबार राती भएको घटनामा सुरक्षा घेरामा सांसद नमुना लगायतको टोली ।

सांसद केसीले शुक्रबारको आक्रमण व्यक्तिगतरुमा आफु लक्षित नभएको बताईन । ‘अचानक भएको हो । तर अवस्था ज्यादै डरलाग्दो र जे पनि हुने खालको थियो ।’ नमुनाले भनिन्–‘ शुक्रबारको घटनाबाट प्रहरी, प्रशासन गम्भीर बन्नुपर्छ ।’ प्रहरीको सुरक्षा बन्दोबस्ती पछि बिभिन्न बाटो हुँदै सांसदको टोली राती दुई बजे नेपालगन्ज आईपुगेको थियो । नरैनापुरबाट सांसदको टोली ६ बजेदेखि १० बजेसम्म बन्धक अवस्थामा थियो । नेकपा बाँकेका सचिव अशोक कोइरालाले सांसद नमुना माथि लक्षित आक्रमणको निन्दा गरेका छन् । उनले यस्ता गतिबिधि नियन्त्रणमा ल्याउनका लागि प्रहरी,प्रशासनलाई गम्भीर बन्न आग्रह गरे । अहिले नरैनापुरको अवस्था शान्त रहेको प्रहरीले जानकारी दिएको छ । लागुऔषध कारोवारमा संलग्न भएका व्यक्ति प्रहरी नियन्त्रणमै छन् । शुक्रको घटनामा संलग्नलाई प्रहरीले खोजि गरिरहेको छ ।

प्रकाशित मितिः     ४ जेष्ठ २०७६, शनिबार १३:१७  |