बाँके ६ जेठ : नेपालगन्ज उपमहानगरपालिकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको निःशुल्क स्वास्थ्य परिक्षण गर्न ‘स्वास्थ्य सहायता कक्ष’ सन्चालनमा ल्याएको छ । आगन्तुक कक्षमा स्टाफ नर्सले सेवाग्राहीको स्वास्थ्य परिक्षण गर्दै आउनुभएको छ ।
कार्यालयमा कामले आउने सेवाग्राहीले चाहेमा स्वास्थ्य सहायता कक्षमा गएर प्रारम्भीक स्वास्थ्य परिक्षण गर्न सक्छन् । निःशुल्करुपमा ब्लड प्रेसर, तौल, ज्वरो जस्ता स्वास्थ्य समस्याको परिक्षण हुने स्टाफ नर्स लक्ष्मी बिकेले जानकारी दिनुभयो । ‘यहाँ आउने सेवाग्राही मध्ये अहिले दैनिक १५ जना जति स्वास्थ्य परिक्षणका लागि आउनुहुन्छ ।’– बिकेले भन्नुभयो ।
आवश्यकताका आधारमा सामान्य स्वास्थ्य परिक्षण पछि थप उपचारका लागि जानुपर्ने स्वास्थ्य निकायका बिषयमा पनि स्टाफ नर्स बिकेले सल्लाह दिदै आएकी छन् । नेपालगन्ज उपमहानगरपालिकाले सेवाग्राहीको थप सेवाका लागि ध्यान दिदै बैशाख महिनाबाट स्वास्थ्य सहायता कक्ष शुरु गरेको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । उक्त कक्ष प्रभावकारी बनेको छ ।