चोकको सौन्र्दयकरणमा नीजिक्षेत्र : कोहलपुरमा हर्षोल्लास, नेपालगन्जमा बिबाद !


  • टिप्पणी

‘दुलही झैं सिंगारिएको’ कोहलपुर चौराहाको तस्वीर यतिबेला सामाजिक सन्जालमा ‘भाईरल’ बनेको छ । अनेकथरीका फुल, दुबो सहितको बगैचा अनि रातीमा झिलिमिली बत्ती र पानीको फोहोरा ! यस्तो लोभलाग्दो दृश्यसहितको चौराहाको तस्वीर हेरेपछि जोकोहीले प्रशंसा गरिरहेका छन् । कोहलपुर नगरपालिकाको समन्वयमा होटलक्षेत्रमा देशभर ख्याती कमाएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी ठुलो धनराशी खर्चेर कुरुप झैं बनेको देश जोड्ने कोहलपुर चौराहाको रुप नै फेरिदिएको छ । चौराहको रुप फेर्ने काममा न कुनै बिवाद भयो नत कुनै कोलाहल नै । कुरा होइन काम गर्दाको परिणाम आज कोहलपुर चौराहा गज्जवको बन्न सकेको छ ।

यता कोहलपुरसंगै जोडिएको र देशकै ठुलो शहर मध्ये पर्ने नेपालगन्जमा पनि चोक÷चौराहा शुन्दर बनाउने कुरा नचलेका होइनन् । तर ती कुराहरु बिबादित र तनावयुक्त बनेका छन् । कोहलपुरमा जस्तै यहाँ पनि नीजिक्षेत्रको सहकार्यमा चोक शुन्दर बनाउन खोजिएको छ । नीजिक्षेत्रको अगुवा संगठन नेपालगन्ज उद्योग वाणिज्य संघ नै यसको अगुवाईमा लागेको छ । उसले प्रतिष्ठित औद्योगिक समूहलाई चोक निर्माणमा सहयोगी दाताका रुपमा जुटाएको छ । कोहलपुर नगरपालिकाले समन्वय गरेजस्तै यहाँपनि चोक निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाले स्वीकृती दिएको छ । तर यहाँ कोहलपुरमा जस्तो फटाफट काम हुन सकेको छैन् । कहिलेबाट शुरु हुन्छ भन्ने पनि एकिन छैन् ।

त्रिभुवनचोक, कारकाँदोचोक निर्माण अत्यन्त बिबादित बन्न पुगे । त्रिभुवनचोक राजनीतिकरणको सिकार बन्न पुगेको छ भने कारकादोमा राष्ट्रिय बिभुती शंखधर साख्वासंग जोडिएको बिषय भएका कारण सौन्र्दयकरणको आकार लिन सकेका छैनन् । थुप्रै पटक छलफल भएपनि समाधान निस्किएन । शुन्दर चोक हरेक राम्रो शहरको पहिचान हो । त्यसकारण नेपालगन्ज जस्ता शहरहरुमा आउने आगन्तुकहरुको मन लोभ्याउने चोकहरु निर्माण गर्न जरुरी छ । तर त्यसका लागि प्रशस्त छलफल र बहस नगरी हुँदैन । अझ पुराना ऐतिहासिक, सांस्कृतिक, धार्मिक, राजनीतिक महत्व राख्ने चोकहरु पुर्ननिर्माण गर्न खोज्दा त झनै संवेदनशिलता अपनाउन जरुरी छ । मानवीय संवेदनशिलताको ख्याल नगरी गरिने कुनै पनि कार्यले परिणाम राम्रो दिदैन ।

कोहलपुर चोक पनि राजनीतिक आन्दोलनको सिकार बनेकै थियो । जनआन्दोलनदेखि थरुहट आन्दोलनले प्रभावित बनेको भएपनि अहिले सर्बस्वीकार्यरुपमा हर्षोल्लासका साथ चोक निर्माण भए जस्तै नेपालगन्जमा पनि गहन छलफल र बहस गरेर शुन्दर चोक निर्माणको गतिलाई बढाउन जरुरी छ । बिबादका पक्षलाई सहमत गराउने अहम् दायित्व सरोकोरवाला पक्षकै हो । यसका साथै चोकको सोन्र्दयकरणमा सबैपक्षबाट सहयोग हुन्छ भन्नेमा कसैको दुइृमत नहोला ।  महत्वपूर्ण कुरा त कोहलपुर चोकको उद्घाटन नेपालगन्जलकै संघीय सांसद समेत रहनुभएका शहरी विकास मन्त्री मोहमद ईस्तिायक राईले गर्नुभयो । नेपालगन्जको विकासका लागि कयौं योजना ल्याएर चर्चामा रहनुभएका मन्त्री राईले आफ्नो शहरको शुन्दरताका लागि केही नगर्ने भन्ने कुरै भएन । यो नेपालगन्जका लागि प्लस प्वाईण्ट हो । नेपालगन्ज उपमहानगरपालिकाले पनि केह योजना अघि सरोको छ । तर नीजिक्षेत्रले चोक निर्माणको काममा सहमति जुटाउन नसकेका बेला उसले खेल्ने भूमिका अन्तिम र महव्तपुर्ण रहन्छ । कोहलपुरमा नीजिक्षेत्रको सहकार्यले चौराहा शुन्दर भएझैं यहाँका चोक पनि शुन्दर पार्न नसकिने होइन । तर त्यसका लागि बृहत छलफलको आवश्यकता देखिन्छ ।

प्रकाशित मितिः     २१ जेष्ठ २०७६, मंगलवार १३:१५  |