‘सहकारीका पदाधिकारीले ब्ल्याकमेलिङ्ग गर्दै मासिकरुपमा पैसा लैजान्थे’


बाँके २१ जेठ : नेपालगन्जमा रहेका सहकारी वित्तीय विकास संस्था लिमिटेडको आर्थिक अपचलन प्रकरणका आरोपी अरुण कुमार पाठक जिल्ला प्रहरी कार्यालय बाँकेमा उपस्थित भएका छन् । प्रहरी कार्यालयमा जानु भन्दा पहिले पाठकले पत्रकार सम्मेलन गरी उक्त आर्थिक अपचलन प्रकरणका बारेमा मुख खोलेका थिए । पाठक रु २१ करोड ९४ लाख ३६ हजार अपचलनको आरोपी हुन ।पाठक उक्त सहकारीका बैंकिग प्रबन्धक थिए ।

जिल्ला प्रशासन कार्यालय बाँके सेवाग्राही कक्षमा पत्रकारसंग कुराकानी गर्दै पाठकले आफुलाई करकापमा पारेको दाबी गरे । उनले भने,–‘ सहकारीका जिम्मेवार मान्छेले आफु चोख्निे उदेश्यले मलाई करकापमा पारेर यतिका ठुलो रकम अपचलन गरेको कागज गराए ।’ उनले गत बैशाख १ गते संस्थाको कार्यालयमा बोलाएर आफुलाई हिनामिना गरेको ९ करोड ९४ लाख ३६ हजार र दायित्वभित्र पर्ने भनी १२ करोड रुपैया गरी जम्मा २१ करोड ९४ लाख ३६ हजारमा जालझेलपूर्ण तरिकाले कागज गराएको दाबी गरेका छन् ।

उनले संस्था धरासायी बन्न थालेपछि त्यसबिषयमा अध्यक्ष हरदेवबक्स चौधरी लगायत सन्चालक समितिलाई जानकारी गराउँदा पनि कुनै चासो नदिएको बताउँदै आर्थिक अपचलनमा अध्यक्ष पनि उत्तिकै जिम्मेवार रहेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा बितरित प्रेस बिज्ञप्तीमा पाठकले ‘संस्थाका अध्यक्ष हरदेव बक्स चौधरी संस्थामा भएको अपचलनबारे लामो समयदेखि जानका नै थिए । तर जिम्मेवार पदाधिकारीले संस्था सुधार गर्ने भन्दा उल्टो त्यसैलाई आधार मानेर ब्ल्याकमेलिङ्ग गर्दै मासिकरुपमा पैसा बुझ्ने’ गरेको दाबी गरेका छन् ।

करिव २६ करोड रकम हिनामिना भएपछि अहिले उक्त सहकारी बन्द छ । सेवाग्राहीहरु पैसा फिर्ता पाउनका लागि दिनभर चर्को घाममा लाईनमा लाग्दै आएपनि कुनै उपाय लागेको छ्रैन् । अध्यक्ष चौधरीले पाठक सहित अन्य कर्मचारीले आर्थिक अपचलन गरेकाले सहकारी धरासायी बनेको आन्तरिक छानविनले देखाएको बताएका छन् ।

प्रकाशित मितिः     २१ जेष्ठ २०७६, मंगलवार १४:१०  |