तामझाम बिना श्री एयरलाईन्सको नियमित उडानबाट राष्ट्रपति नेपालगन्ज आइन्


नेपालगन्ज, २१ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारी कतै जानु पर्‍यो भने आमनागरिकले दुई कुरामा आलोचना गर्छन्। उनको सवारी हुँदा ट्राफिक प्रहरीले सडक खाली गर्छ। नागरिकले सास्ती व्यहोर्छन्। पछिल्लो समय त जाममा परेका नागरिकले हर्न बजाएर विरोधसमेत जनाइरहेका छन्।

सडक खाली गराएर विमानस्थल पुगेकी राष्ट्रपति भण्डारी त्यहाँबाट प्रायस् सधैँ सेनाको हेलिकप्टरबाट बाहिर जान्थिन्। स्कुलको उद्घाटन गर्न होस् वा कुनै मन्दिरमा पूजापाठ गर्न। घन्टाको लाखौं भाडा पर्ने हेलिकप्टर सेनाले आफ्नी परमाधिपतिसमेत रहेकी राष्ट्रपतिलाई उपलब्ध गराइहाल्थ्यो। मंगलबार भने राष्ट्रपतिले यात्राका लागि व्यावसायीक जहाज प्रयोग गरेकी छन्।

फाइल तस्वीर

श्री एयरलाइन्सको जहाज चढेर राष्ट्रपति भण्डारी मंगलबार नेपालगञ्ज गएकी हुन्। राष्ट्रपति १२: ३० बजेको फ्लाइटबाट नेपालगञ्ज आइपुगेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेतोपाटीलाई बताए। ‘राष्ट्रपतिज्यु श्री एअरलाइन्सको विमान चढेर नेपालगञ्ज आउनुभएको हो,’ उनले भने, ‘उहाँले भोलि बुधबार वन तथा वातावरण मन्त्रालयले गर्ने जलवायुसम्बन्धी गोष्ठीको उद्घाटन गर्नुहुनेछ।’

सम्मेलनमा देशका विभिन्न महानगर, उपमहानगर, नगर, गाउँका जनप्रतिनिधि सहभागी हुनेछन्। प्रजिअ भुजेलका अनुसार राष्ट्रपति आज साँझ मुश्लिम धर्मावलम्बीहरूको चाड इदमा पनि सहभागी हुने कार्यक्रम छ। ‘अहिले मुश्लिम धर्मावलम्बीहरूको रोजा चलिराखेको छ। उहाँ आज साँझ यहाँ आयोजित इफ्तारमा सहभागी हुनुहुनेछ,’ प्रजिअ भुजेलले भने। यस्तै बाँकेको प्रभात माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई पनि राष्ट्रपति भण्डारीले बुधबार बिहान सम्बोधन गर्ने कार्यक्रम छ। नेपालगञ्ज पुगेकी राष्ट्रपति सोल्टी होटलमा बसेकी छन्।

उनी बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज दाहालले बाहिर यात्रा गर्दा आवश्यकताअनुसार राष्ट्रपतिले हेलिकप्टर र हवाइजहाज चढ्ने गरेको बताए। ‘उहाँलाई हेलिकप्टरमा भन्दा जहाजमा नै यात्रा गर्न सहज लाग्छ। विकट पहाडी भेगमा जानु पर्दा हेलिकप्टर जानुपर्ने बाध्यता हुन्छ, नेपालगञ्ज आउन जहाजमा नै उपयुक्त लागेर आउनुभएको हो,’ दाहालले भने,‘फेरि हेलिकप्टरभन्दा जहाज सुरक्षित पनि त हुन्छ।’ सेतोपाटीबाट साभार

प्रकाशित मितिः     २१ जेष्ठ २०७६, मंगलवार १६:२८  |