इफ्तारमा पहिलो पटक राष्ट्रपति सहभागि ,बाँकेका मुस्लिम समुदाय हर्षित(तस्वीर सहित)


तस्वीर सौजन्य : माधव अधिकारी ।

बाँके २१ जेठ : राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्लिम समुदायको ‘रोजा इफ्तार’ कार्यक्रममा मंगलबार साँझ सहभागि हुनुभएको छ । इफ्तार कार्यक्रममा पहिलो पटक राष्ट्रप्रमुख सहभागि भएपछि बाँकेका मुस्लिम समुदायले हर्षित महसुस गरेका छन् ।

मुस्लिम समाज बाँकेको आयोजनामा रोजा इफ्तार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले रोजा इफ्तार कार्यक्रमले देशलाई एकताबद्ध बनाउन र समृद्धीको लागि राम्रो सन्देश दिने बताउनुभयो । उहाँले भन्नुभयो,–‘यो पर्वले देशमा रहनुभएका बिभिन्न धर्म,सम्प्रदाय र आमजनसमुदायबीच झन् एकता कायम गराउन सहयोग पुर्याउने बिश्वास छ ।’

कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले इफ्तारमा सहभागि भएकोमा राष्ट्रपतिलाई धन्यबाद दिनुभयो । ‘मुस्लिम समुदायको पर्वलाई महत्व दिएर राष्ट्रप्रमुख नेपालगन्ज आउनुभएकोमा धेरै हर्ष लागेको छ ’ मन्त्री राईले भन्नुभयो–‘आज यो कार्यक्रमले देशमा सामाजिक सद्भाव र एकता कायम भएको सन्देश पनि दिएको छ ।’

कार्यक्रममा बोल्दै मुस्लिम अगुवा मोहमद हारुन, अत्तरहुसेन फारुकी लगायतले अल्पंसख्य मुस्लिम समुदायको विकासका लागि राष्ट्रपति मार्फत सरकारको ध्यानार्कषण गराउनुभएको थियो । मुस्लिम समुदायको तर्फबाट अब्दुल हुसेन खानले राष्ट्रपतिलाई अनुरोध पत्र समेत बुझाउनुभयो । कार्यक्रमको अध्यक्षता मुस्लिम समाजका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका थिए भने हिन्दु लगायत बिभिन्न धर्मका अगुवाहरु कार्यक्रममा सहभागि थिए ।

प्रकाशित मितिः     २१ जेष्ठ २०७६, मंगलवार १९:५४  |