१६ वर्षमै विवाह गर्न पाउनुपर्ने भन्दै नेपालगञ्जमा चक्काजाम, कस्ले उचाल्यो महिला ?


नेपालगञ्ज – १६ वर्षको उमेरमै बिवाह छोरीको बिवाह गर्न पाउनुपर्ने माग गर्दै नेपालगञ्जका महिलाहरुको एउटा समूहले आज मंगलबार दिउँसो दुई बजेदेखि तीनबजेसम्म चक्काजाम गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका अगाडी धर्ना दिदै उक्त समूहले चक्काजाम गरेको छ । चक्काजामका कारण नेपालगञ्जको सवारी सञ्चालन केहीबेर प्रभावित भयो ।

कानून बिपरित बिवाह गर्न पाउनुपर्ने भन्दै चक्काजाम गर्ने उक्त समूह कुनै संगठित शक्ति भने होइन । जानकी गाउँपालिका वडा नम्बर ६ का रामदेव मिश्रले दुधे बालक सहितका आमा र बृद्धालाई उचालेर चक्काजाम गर्न लगाएका हुन । सामाजिक कार्यकर्ताका रुपमा चिनाउन चाहाने मिश्रले जानकी गाउँपालिका र र नेपालगञ्ज उपमहानगरपालिकाबाट दर्जनौ महिलालाई सडकमा उतारेका थिए । उनको भनाईको पछि लागेर आएका महिला चर्को गर्मीमा चक्काजाममा उत्रिए ।

यही समूहले यसअघि जानकी गाउँपालिकामा छोरीको बिवाहको सम्पुर्ण खर्च दिनुपर्ने माग सहित धर्ना दिएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिश्रकै समूहले १६ वर्षमुनीका किशोरीले बिहे गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाए । आज नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवहाक मेयर जुम्मन खाँलाई ज्ञापनपत्र बुझाउँदै २० वर्षको उमेरमा बिहे गराउँदा ‘मधेसी समूदाय’का चेलीलाई समस्या हुने दावी गर्दै १६ वर्षमै बिवाह गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग राखेको मिश्रले बताए । उनका अनुसार, उक्त समूदायमा ढिलो बिवाह गर्दा आमाबुवाले गरिवीका कारण पाल्न नसक्ने, छोरी भागेर अन्तै जाने भएकाले समाजका अगाडी लाज हुने अवस्था सिर्जना हुन्छ । यस्ता तर्क राखेर बालविवाहलाई प्रश्रय दिने गरी चक्काजामसम्म गर्न भ्याएका छन् ।

 

प्रकाशित मितिः     १४ श्रावण २०७६, मंगलवार १५:११  |