आगो निभाउन किन ढिलो पुग्छ दमकल ? वारुणयन्त्रका इन्चार्जलाई प्रश्न


झइन खड्का, बारुणयन्त्र इन्चार्ज नेपालगञ्ज ।

नेपालीको सेनाको मानार्थ सेकेण्ड लेफ्टिनेन्ट पदबाट अवकास पाएपछि झइन बहादुर खड्का ‘पेन्सनको जिन्दगी’ मा रमाउँन चाहेनन् । अवकास लगत्तै उनले नेपालगञ्ज उपमहानगरपालिकाको बारुणयन्त्र शाखाको प्रमुख पदमा आवेदन दिए र छनौट भए । यतिबेला झइनको काँधमा नेपालगञ्जलाई आगलागीका घटनाबाट जोगाउने जिम्मेवारी छ । १३ जना सहकर्मी र दुईवटा दमकल त छँदै छन् । उपमहानगरपालिकाले बारुण शाखालाई पहिलेको भन्दा जनशक्ति र दमकल थप गरेको छ । यद्यपी आगलागीका घटना नियन्त्रणका सम्बन्धमा पिडितका कयौं गुनासा छन् । पहिलो गुनासो हो, दमकल ढिलो पुग्छ भन्ने । यही प्रश्न हामीले खड्कालाई सोधेका छौं । उनको जवाफ थियो,–

आमनागरिक र पिडित पक्षबाट आउने यस्ता गुनासालाई अन्यथा लिदैनौ । एकाध घटनामा यस्तो भएको पनि होला । त्यसको कारण पनि छन् । तर सबै ठाउँमा ढिलो पुगेका छौं भन्ने पनि होइन । आगलागी भनेको अत्यन्त संवेदनशिल कुरा हो । समयमै नियन्त्रण नगर्ने हो भने यसले ठुलो धनजनको क्षति निम्त्याउँछ । यही सन्र्दभमा आमनागरिक र पिडित पक्षबाट आउने गुनासालाई अन्यथा लिनु हुँदैन । सकारात्मकरुपमा लिई आउने दिनमा अझ प्रभावकारी काम गर्नुपर्छ । दमकल छिटो आएर आगलागी नियन्त्रण गरिदिए हुन्थ्यो भनेर तपाई हामी जोकोहीले पनि सोंच्छौ ।
अत्यन्त संवेदनशिल कामको जिम्मेवारी हाम्रो काँधमा छ । यो संवेदनशिलतालाई म लगायत सबै सहकर्मीले बुझेका छौं । त्यही भएर हामी २४ घण्टा नै स्ट्याण्डबाई भएर बसेका हुन्छौ । यही सुत्ने, खाने गर्छौ । बिदा भन्ने कुरा छैन । चनाखो भएर बसेका छौं । सूचना आएको पाँच मिनेट भित्र हामी तयार हुन्छौ । त्यसै अवधिमा हामी दमकल सहित गेटबाट बाहिर निस्किसकेका हुन्छौ ।

दमकल ढिलो आउँछ ?

आगाले आफ्नो सम्पत्ति दन्किरहेको प्रत्यक्ष देख्ने पिडितले केही गरी छिटो आयो नियन्त्रणमा आईदिओस् भन्छ नै । त्यो पिडा उसलाई मात्र थाहा हुन्छ । त्यसका लागि सबैभन्दा धेरै आश दमकलबाट गर्ने हो । केही गरी ढिलो भयो भने पिडित निरास वा आक्रोसमा आएर गाली गर्ने कुरालाई अन्यथा लिन मिल्दैन ।

तपाईहरु ढिलो त पुग्नुहुन्छ नी ?

मैले पहिल्यै भनिसके । सूचना आएको पाँच मिनेट हामीलाई तयार हुन लाग्छ । त्यो पाँच मिनेट भित्र दमकल बारुणयन्त्रको गेट बाहिर पुगिसकेको हुन्छ । यो समयलाई हेर्नुभयो भने त हामी छिटो जाँदै छ भन्ने देखाउँछ । तर जब हामी गेट भन्दा बाहिर जान्छौ त्यसपछि कुन ठाउँमा आगलागी भयो र त्यहाँ पुग्न कस्ता अवरोध छिचोल्नुपर्छ कुरा पनि हेर्नुपर्छ । जहाँ फराकिलो बाटो र ट्राफिक जाम छैन, त्यहाँ तत्काल पुगिन्छ । तर नेपालगञ्जमा कयौं यस्ता ठाउँ छन् जहाँ गाडी लैजान मुस्किल पर्छ । साईरन बजे पनि सडक ढाकेर पार्किङ्ग गरेका सवारी साधन हटाईदैन । हाम्रै मान्छे दमकलबाट ओर्लिएर बाटो क्लियर गर्दै अगाडी बढ्नुपर्छ । बिजुली र केवलका तारको समस्या त झन् भयावह छ । साँघुरो बाटो र तारको अवरोध छिचोल्दै जाँदा ढिलो हुन्छ । त्यसपछि आमनागरिकले गाली त गर्ने नै भए नी ।

तर फराकिलै बाटो भएको ठाउँमा पनि ढिलो पुगेको कुरा आएको छ ?

अह ! त्यस्तो छैन । आगलागीबाट जनताको धनजन जोगाउन भनेर काममा लागेका हामीलाई ढिलो पुग्नुपर्ने के स्वार्थ छ होला र ?

यहाँहरुको दमकलमा पानीको पनि समस्या छ ?

दुईवटा दमकल चालू अवस्थामा छन् । पानी भर्नका लागि बोरिङ्गको व्यवस्था गरिएको छ । तर तेल हालेर चलाउनुपर्ने पुरानो जेनेरेटर र थोरै फोर्सले पानी फाल्ने बोरिङ्ग भएकाले पानी भर्न अलि बढि समय लाग्छ । जहाँ साँघुरो र ट्राफिक जाम भएको ठाउँमा आगो लाग्छ त्यहाँबाट फेरी फर्किएर पानी भर्न आउँन निकै चुनौती झेल्नुपर्छ ।

अन्तमा के भन्न चाहानुहुन्छ ?

जनप्रतिनिधि ज्यूहरुबाट हामीलाई आगलागी नियन्त्रणमा चनाखो भएर काम गर्न निर्देशन भएको छ । हामी त्यो निर्देशन पालना गर्न कुनै कसर बाँकी राख्दैनौ । जे जति चुनौती मैले भने त्यसको समाधान हुँदै जाला र आगलागी नियन्त्रण झन् सहज होला भन्ने अपेक्षा गरौं । यद्यपी अहिले पनि जस्तोसुकै परिस्थिती आए पनि हामी आगो निभाउन सक्षम छौं । यहाँहरु जोकोहीले मेरो मोवाईल नम्बर ९८४५१४७४०८ वा ०८१ ः ५२०१११ मा फोन गरेर आगलागीको तत्काल सूचना दिने गर्नुहोला । यहाँहरुले आगलागी नियन्त्रणमा यहाँहरु सबैको सल्लाह, सुझाव र सहयोको अपेक्षा पनि गर्दछु ।

प्रकाशित मितिः     २४ श्रावण २०७६, शुक्रबार १६:३२  |