कुलमान आएपछि विद्युत् प्राधिकरणको नाफा १५३ प्रतिशत बढ्यो, गत वर्ष ७२० करोड


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको गत आर्थिक वर्षमा नाफा १५३.५२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको भन्दा ४ अर्ब ३६ करोड रुपैयाँ नाफा बढेको प्राधिकरण स्रोतले बतायो । लामो समयदेखि घाटामा रहेको प्राधिकरण पछिल्लो २ वर्षदेखि नाफा कमाउन थालेको हो । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुहावट नियन्त्रण, डेडिकेटेड फिडर वक्यौता असुली, आयोजनाहरुबाट विद्युत् उत्पादन बढ्नु र आन्तरिक व्यवस्थापनमा सुधार र निर्धारित समयमा भारतलाई बिजुलीको भुक्तानी गर्दा प्राप्त रिवेटले गर्दा नाफामा बढोत्तरी भएको प्राधिकरण उच्च स्रोतले क्यापिटल नेपाललाई बतायो । चुहावट घटेर १५.३२ प्रतिशतमा झरेपछि आम्दानी ४ अर्ब रुपैयाँ थपिएको स्रोतको भनाइ छ । यस्तै डेडिकेटेड फिडरबाट थप २ अर्ब ५० करोड रुपैयाँ आम्दानी भएको स्रोतले बतायो । स्रोतका अनुसार बैङ्कबाट ब्याज र विविध आम्दानी पनि बढेको छ ।

यस्तै प्रधिकरणको विद्युतगृहको बिजुली उत्पादन बढेर २ अर्ब ५५ करोड युनिट पुगेको छ । गत वर्ष बिजुली उत्पादन, चुहावट घटाएर आम्दानी बढाउनु र नाफा आर्जनका हिसावले प्राधिकरणले ऐतिहासिक रेकर्ड राखेको स्रोतको दाबी छ । चुहावट नियन्त्रण, डेडिकेटेड फिडर वक्यौता असुली, आयोजनाहरुबाट विद्युत् उत्पादन बढ्नु र आन्तरिक व्यवस्थापनमा सुधार र निर्धारित समयमा भारतलाई बिजुलीको भुक्तानी गर्दा प्राप्त रिवेटले गर्दा नाफामा बढोत्तरी भएको प्राधिकरण उच्च स्रोतले क्यापिटल नेपाललाई बतायो ।

साउनको दोस्रो साता प्राधिकरणको नाफा ६ अर्ब ३८ करोड रुपैयाँ हुने पूर्वानुमान गरिएको थियो । पूर्वानुमान भन्दा ८२ करोड रुपैयाँ नाफा बढेको छ । संस्थागत सशासन, अनावश्यक खर्च कटौती र चुहावट नियन्त्रणले गर्दा नाफा बढेको हो । २०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनको व्यवस्थापकीय कुशलताले मुलुकलाई लोडसेडिङ मुक्त मात्रै गरेन घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएको छ ।

यसअघि २७ अर्ब ३२ करोड रुपैयाँ संचित नोक्सानलाई अपलेखन (राइटअप) गरी नाफा र घाटा बराबरीको अवस्थामा पुर्याए पनि नोक्सान बढ्दै गएको थियो । घिसिङको नेतृत्वमा विद्युत् चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट नाफामा जान थालेको हो । प्राधिकरणले औसत ८ रुपैयाँमा बिजुली किनेर १० रुपैयाँ ४ पैसामा बिक्री गर्दै आएको छ ।

अघिल्लो वर्ष विद्युत् चुहावट २०.४५ प्रतिशतबाट घटेर १५.३२ प्रतिशतमा झरेको छ । प्राधिकरणले चुहावट घटाउन चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सवस्टेसनको सुदृढीकरणलगायत काम अभियानकै रुपमा चलाइरहेको छ ।

प्रकाशित मितिः     २८ श्रावण २०७६, मंगलवार १७:१०  |