मन्त्री ‘भर्सेज’ मेयर होइन, नेपालगञ्जको विकासमा अंकमाल !


इदको अवसरमा मन्त्री राई र मेयर राणा शुभकामना साटासाट गर्दै । तस्वीर : गोविन्द शर्मा

नेपालगञ्ज – नेपालगञ्जका प्रतिनिधिसभा सांसद एवं शहरी विकास मन्त्री मोहमद ईस्तियाक राई र मेयर डा. धवल शमसेर राणाबीचको शक्ति संघर्ष सतहमा आएको छ । भिन्न पार्टीका सांसद र मेयरबीच राजनीतिक प्रतिस्पर्धा त स्वभाविक नै मान्न सकिन्थ्यो तर विकासकै मुद्दामा तालमेल नमिलेपछि नेपालगञ्जमा चिन्ता प्रकट हुन थालेको छ ।

गाईसंरक्षण अभियानदेखि बागेश्वरी मन्दिर परिसरमा सटर बनाउने बिषयमा शहरी विकास मन्त्रालयले गृहमन्त्रालयलाई लेखेको पत्रसम्म आईपुग्दा दुवैबीचको शक्ति संघर्ष प्रष्ट देखियो । यद्यपी दुबै जनाले शक्ति संघर्ष नभएको दावी गरेका छन् । अझ शहरी विकास मन्त्रीले दश हजार रुख रोप्ने अभियान शुरु गर्दा उपमहानगरसंग भएको ‘टसल’को भित्रि कथा बाहिर आउन सकेको छैन । मन्त्रीले जेठमै रुख रोप्ने घोषणा गरेका थिए । कहाँ रुख रोप्ने भन्ने विषयमा उपमहानगरसंग विवाद भएको थियो । पहिल्यै रुख रोपिसकेकाले चार लेन सडकमा रुख रोप्न आवश्यक नभएको तर्क उपहमानगरको थियो ।

यस्तै विवादका बीच अन्तत : जमुहना र राँझाका सीमित ठाउँमा मन्त्रीको तर्फबाट रुख रोपिएको छ । त्रिभुवनचोकमा सालिकको पुर्ननिर्माण, बहुउदेश्य सभागृह जस्ता विषयमा मन्त्री र मेयर एकमत छैनन् । यस्ता अन्य मुद्दा पनि छन् जसमा उनीहरुको तालमेल नभएको सबैले महसुस गर्छन् । मेयर राणा नेपालगञ्जकोे भविष्यका लागि कर्णाली प्रदेशमा गाभिन आन्दोलनको कुरा गर्छन । मन्त्री राई त्यसलाई ठाडै अस्विकार गर्छन् ।

त्यसै पनि यतिबेला नेपालगञ्ज राजनीतिक, प्रशासनिकरुपमा कमजोर बनेको छ । आमनागरिकले यो ऐतिहासिक शहरको भविष्यका बारेमा चिन्ता गर्न थालेका छन् । एकपछि अर्को गर्दै सरकारी कार्यालय अन्यत्र सर्न थालेका छन् । मानिसहरुको फ्लो यिनै कारणले घट्दै छ । यसरी चोटिलो बनेको नेपालगञ्जलाई मल्हम लगाउन सक्ने शक्ति केन्द्र भनेको मन्त्री र मेयर नै हुन । तर विकासका सवालमा यिनै शक्ति केन्द्र एउटै टेबुलमा आउन नसक्दा निरासा व्यक्त गर्न थालिएको छ । के फरक राजनीतिक बिचार बोकेका नेताहरु आफ्नो ठाउँको विकासका विषयमा एउटै टेबुलमा आउन नसक्ने हो र ?


नेपालगञ्जले विकासप्रेमी मन्त्री र मेयर पाएको छ । आफ्नो ठाउँको विकासप्रति दुवै जनामा तिव्र इच्छा शक्ति भएको पाईन्छ । शहरी विकास मन्त्रीले अर्वौका प्रोजेक्ट ल्याएका छन् । मेयर राणाका तर्फबाट पनि उपमहानगरको गच्छे अनुसारको नयाँ योजनाहरु नआएका होइनन् । विकासका मुद्दामा मन्त्री र मेयरको ताल एउटै हुने हो भने नेपालगञ्जको भविष्य शुन्दर हुन सक्छ । यो सुनौलो अवसर विवाद खडा गरेर खेर फाल्ने बेला होइन । दुबै जना मिलेर नेपालगञ्जलाई सम्झिनलायक कुनै एउटा ठुलो प्रोजेक्ट ल्याउन ल्याउन सकिदैन ? मन्त्री राई र मेयर राणा राजनीतिकरुपमा नेपालगञ्जका लागि प्रतिस्पर्धी हुन भन्नेमा दुईमत छैन । यो स्वभाविक कुरा पनि हो । जनप्रतिधिले आफुले गरेको कामको जस लिन खोज्ने कुरा पनि अन्यथा होइन । तर एउटै ठाउँमा जनप्रतिनिधिबीच विकासका सवालमा विवादहरु उब्जिने अवस्था आयो भने त्यसलाई अस्वभाविक मान्नुपर्छ ।

सबैले नेपालगञ्जलाई हेपेका बेला यहाँका जनप्रतिनिधिबीच एकजुटता अझ आवश्यक पर्छ । विकासको जसका लागि एकले अर्कोलाई प्रतिस्पर्धी ठान्न जरुरी छैन । राम्रोसंगै काम गरे दुबैको नाम स्वर्ण अक्षरमा लेख्न कसैलाई आपत्ती हुने पनि होइन । विकासका मुद्दामा एकमत हुनुको बिकल्प पनि छैन् फेरी । उनीहरु दुबै जनालाई एउटा ठाउँमा ल्याएर नेपालगञ्जको तिव्र विकासका लागि पहल गर्ने शक्ति यतिबेला कमजोर बन्दै गएको आभास हुन थालेको छ । मन्त्री वा मेयर कुनै एकको प्यारो भएर मन्त्री भर्सेज मेयर बनाउन यदि कसैले खोजेको छ भने त्यो मुर्खता सावित हुनेछ। त्यस्ताले यि दुबैको तालमेल नमिल्दा नेपालगञ्जलाई हुने नोक्सानीको हेक्का छैन् भन्ने बुझ्नपर्छ ।

मन्त्री र मेयरबीच व्यक्तिगतरुपमा पक्कै नराम्रो छैन । राजनीतिक ‘इगो’ले पो काम गरेको चाहि हुन सक्छ । पछिल्लो बकर ईदमा मन्त्री र राईले अंकमाल गरी शुभकामना साटासाट गरेको तस्वीर सामाजिक सञ्जालमा देखिएको थियो । विकासका मुद्दामा पनि दुबै जनाले अंकमाल गर्दै नेपालगञ्जको दिर्घकालिन फाईदाका लागि ठुलो प्रोजेक्ट ल्याउन सके कुनै एक जनालाई मात्र होइन दुबैजनालाई यहाँका जनता स्यावासी दिन्छन् । पहिले नेपालगञ्जको विकास गरौं, त्यसपछि चुनावमा भोट कस्ले धेरै पाउने देखाजाला !

प्रकाशित मितिः     9:56:13 AM  |