२० करोड लगानीमा रारामा खुल्दै रिसोर्ट, जनवरीबाट तीन तारे होटल


  • बिजमाण्डुबाट

काठमाडौं। मुगुको रारा तालनजिकै दुईवटा सुविधा सम्पन्न रिसोर्ट निर्माण हुने भएको छ। स्थानीय तीनजनासहित १५ प्रवर्द्धक रहेका यो रिसोर्ट ‘रारा भिलेज रिसोर्ट’ नाममा संचालनमा आउनेछ। रिसोर्टमा तत्कालका लागि २० करोड रुपैयाँ लगानी हुने रारा भिलेज रिसोर्ट प्रालिका कार्यबाहक अध्यक्ष अनुप शाहले बताए । रारा ताल नपुग्दै एक घन्टा तलको दूरीमा पर्ने ‘सल्लेरी’ र राराबाट ४५ मिनेटको दूरीमा माथिल्लो भागमा पर्ने ‘कोट’ गरी दुई ठाउँमा दुई स्तरीय रिसोर्ट संचालनमा ल्याउने गरी काम अघि बढेको उनले जानकारी दिएका छन्। रिसोर्टको अवधारणामा गत फागुनदेखि नै गृहकार्य शुरु गरेर यतिबेला निर्माणको चरणमा पुगेको शाहले बताए । यसमध्ये सल्लेरीको रिसोर्ट भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आगामी जनवरीबाट संचालनमा ल्याइसक्ने उनको भनाइ छ। कोटमा भने सल्लेरीको रिसोर्ट संचालनमा ल्याउनेबित्तिकै निर्माण थालेर एक वर्षभित्र पूरा गर्ने लक्ष्य छ।

दुवै रिसोर्ट गरी कुल ३० रोपनी क्षेत्रफल रहने बताइएको छ। जसमध्ये सल्लेरीको रिसोर्ट करिब १० रोपनीमा र कोटमा १५ देखि २० रोपनीमा हुनेछ। ‘सल्लेरीको रिसोर्ट यही भदौं अन्तिमबाट शुरु गरेर चार महिनाभित्र पूरा गरी आगामी जनवरीबाटै संचालनमा ल्याइसक्ने योजना छ,’ शाहले भने, ‘निर्माण चाँडै सक्न प्रि–फ्याब प्रविधिमा आधारित भवन बनाउने भएका छौं।’

सल्लेरीको रिसोर्टमा दुईवटा ब्लक निर्माण हुनेछन्। त्यसमध्ये एउटा १६९ वर्गमीटर र अर्को १९६ वर्गमीटर बिल्ट अप एरियाको हुनेछ।पहिलो रिसोर्टको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनका साथै डिजाइन तथा इन्जिनियरिङ गृहकार्यको सम्पूर्ण काम पूरा भइसकेको बताइएको छ। तीन/तीन तलाका हुने दुई ब्लकले कुल चार रोपनी जमिन ओगट्नेछन् जसमा जम्मा ३० कोठा हुनेछ।

कोटमा बन्ने रिसोर्ट भने सल्लेरीको भन्दा विशेष र फरक किसिमको हुने शाहले बताए। स्थानीय निर्माण सामग्रीबाटै मुगुको मौलिक शैलीका करिब १५ वटा डेढ तले भिल्लाहरु त्यसमा रहनेछन्। सेवा सुविधा तीनतारे स्तरको हुने भनिएको रारा भिलेज रिसोर्ट (कोट)को अहिले ड्रइङ डिजाइन भइरहेको शाहले जानकारी दिएका छन् । पहिलो रिसोर्ट बन्ने सल्लेरी रारा जानका लागि गाडीको अन्तिम बिन्दू हो। यो रारा तालकै हाराहारी उचाई (करिब २८०० मीटर)मा छ। कोट भने राराबाट अझ ३०० मीटरमाथि मुल्मा जाने बाटोमा पर्छ। कोटमा रिसोर्ट बन्ने स्थानबाट रारा तालको ७० प्रतिशत भ्यू देखिने शाहले बताए। नेपालकै ठूलो ताल राराको फैलावट ९.८ वर्गमीटर छ ।

यी प्रस्तावित रिसोर्ट बनाउने भनिएका दुई स्थानका साथै रारा क्षेत्रमा नै अहिलेसम्म कुनै पनि गुणस्तरीय होटल÷रिसोर्ट छैनन्। यस ठाउँमा अहिले जम्मा दुईवटा मात्र सामान्य गेस्टहाउस भएको मुगुका स्थानीय तथा पर्यटन व्यवसायीसमेत रहेका शाहको भनाइ छ। ‘त्यता अहिलेसम्म एउटा पनि स्तरीय खाने, बस्ने ठाउँ छैन। त्यसैले अहिले रारा क्षेत्र घुम्न गएको मान्छे दुई दिनमै फर्किनुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामी त्यहाँ गएको पर्यटकको बसाई बढाउने सेवा सुविधाका साथै रिक्रिएशन तथा एडभेन्चर स्पोर्टससहितको रिसोर्ट संचालनमा ल्याउने योजनामा छौं।’ रारामा बोटिङका साथै माउन्टेन साइक्लिङ, प्याराग्लाइडिङ, विभिन्न कल्चरल प्रोग्राम इत्यादि उक्त रिसोर्टले संचालन गर्ने बताइएको छ। यी सुविधाहरु भने रिसोर्टको संरचना निर्माण सकेर संचालनमा ल्याइसकेपछि मात्रै थप्दै जाने शाहले जानकारी दिए।

प्रकाशित मितिः     10:58:24 AM  |