कुनै बेलाका उत्कृष्ट निर्यातकर्ता उद्योग अहिले धमाधम बन्द


पुजा दालमिल ।

बाँके – उत्कृष्ट निर्यातकर्ताका रुपमा नेपालगञ्ज भञ्सार कार्यालयबाट पटक–पटक सम्मानित भएका उद्योगहरु धमाधम बन्द भएका छन् । बाँके र बर्दियाको प्रमुख निर्यातमुखी उद्योगहरु चामल, दाल र रोजिन उद्योग बन्द भएका हुन । कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अब्बल मानिन्थे । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो । महाकाली राइस मिल, पूजा दालमिल, टण्डन राइस मिलजस्ता ठूला मिल पनि बाँकेमा सञ्चालित थिए । बजार विस्तार भयो, जनसङ्ख्या बढ्दै गयो । मौसम परिवर्तन हुँदै गएपछि धान उत्पादन पनि घट्दै जान थाल्यो । अहिले यहाँ उत्पादित चामलले यहीँका जनसङ्ख्यालाई पनि खान पुग्दैन । भारतबाट गत आर्थिक वर्षमा मात्र रु ५ अर्वको चामल भित्रियो । विगतमा धानमात्र होइन मुसुरो र रहरको दाल पनि बङ्गलादेशका साथै अन्य खाडी मुलुकसम्म पुग्थ्यो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ अनुसार नेपालगञ्जको भारतसँग परनिर्भरता बढ्दै गइरहेको छ । वनस्पती घीउ उद्योग बन्द भएका छन् । कुनै बखत यहाँबाट एक लाख लिटरसम्म वनस्पति घीउ निर्यात हुने गरेको थियो । दुगड ग्रुरुपले मिल चलाउन अहिले भारतको राजस्थानबाट तोरी आयात गरिरहेकोे छ । पहिला नेपालगञ्जबाट धान निर्यात हुन्थ्यो । त्यसो हुँदा ग्रामीण क्षेत्रबाट धान नेपालगञ्ज आउँथ्यो । सडक सञ्जाल विस्तारसँगै साना मिल गाउँगाउँ पुगेका छन् ।
प्रमुख दाल निर्यातकर्ता पुजा दाल मिल बन्द भएको धेरै भइसकेको छ । प्रतिष्ठित उद्योगपति तुलाराम दुगडले नेपालगन्जमा स्थापना गरेको उक्त उद्योग तीन वर्षदेखि बन्द अवस्थामा छ । उद्योग बन्द भएपछि दुई सय बढि कामदार बेरोजगार भएका छन् भने त्यसको प्रत्यक्ष मारमा दालहन बाली लगाउने बाँके, बर्दियाका कृषक मर्कामा परेका छन् ।

बाँकेका आधा दर्जन रोजिन एण्ड टर्पेन्टाईन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत खर्च बढ्दै जानु, रोजिन र टर्पेन्टाईन तेलको बजार भाउ घट्दै गएपछि सञ्चालकले धमाधम उद्योगमा ताला लगाउन थालेका हुन् । २०५० सालमा स्थापना भएको खनाल रोजिन एण्ड टर्पेन्टाईन बाँकेको पहिलो रोजिन उद्योग हो । उक्त उद्योग बन्द गर्न लागेको सञ्चालक दिवाकर खनालले बताए । ‘खर्च धान्न मुस्किल भएपछि कति दिनसम्म उद्योग चलाउने ? तीनवर्षसम्म घाटा खाएर चलाए । अब चलाउँदिन ।’–निरासा पोख्दै खनालले भने । बचेखुचेको पुरानो कच्चा पदार्थको काम सकेपछि उद्योग पूर्णरुपमा बन्द हुने छ । १५ सय मेट्रिक टन रोजिन उत्पादन क्षमता भएको खनाल रोजिन एण्ड टर्पेन्टाइन उद्योगमा तीन सय बढि कामदार कार्यरत छन् ।

खनालले उद्योग बन्द भएपछि उद्योगमा कार्यरत कर्मचारीलाई बिदाई गरेको जानकारी सहितको पत्र श्रम कार्यालयमा पठाउने तयारी गरिरहेका छन् । बाँकेमा खनाल बाहेक, बंगलामुखी, मनकामना, गंगा, लक्ष्मी जस्ता रोजिन उद्योग छन् । लक्ष्मी धेरै पहिले बन्द भई अरुले नै खरिद गरी सञ्चालनमा ल्याएका थिए । यि उद्योगमा झण्डै एक अर्व लगानी छ । एउटा उद्योगमा न्यूनतम रु ५ करोडदेखि अधिकत्म २५ करोडसम्म लगानी भएको छ । हाल सञ्चालनमा रहेका सबै उद्योग बन्दप्राय रहेको खनालले जानकारी दिए । उनले भने,–‘पुरानो कच्चामालको काम भइरहेको छ । नयाँ कच्चा पदार्थ ल्याएर कसैले उत्पादन गर्ला जस्तो लाग्दैन । सबै निरास छन् । उद्योग बन्दकै अवस्थामा छ ।’

रोजिन एण्ड टर्पेन्टाईन नेपालगञ्ज भञ्सार नाकाबाट निर्यात हुने प्रमुख बस्तुमा पर्छ । गत आर्थिक वर्षमा २०७५र०७६ मा नेपालगञ्ज नाका हुँदै भारतमा रु ५० करोड मुल्य बराबरको ४७ लाख ६६ हजार किलो रोजिनरखोटो निर्यात भएको थियो । त्यस्तै रु १६ करोडको तार्पिन तेल निर्यात भएको नेपालगञ्ज भञ्सार कार्यालयले जानकारी दिएको छ । पछिल्ला वर्षहरुमा रोजिनको निर्यात पनि घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७२र०७३ मा रु ७४ करोड बराबर मूल्यको ५४ लाख किलो रोजिन भारत निर्यात भएको थियो ।

प्रकाशित मितिः     १ भाद्र २०७६, आईतवार ०८:०२  |