नेपालगञ्ज – सांग्रिला विकास बैंकले ग्रामिणक्षेत्रमा शाखा बिस्तार गर्दा चुनौती आए पनि त्यस्ता क्षेत्रमा बित्तिय गतिबिधि बढ्ने जनाएको छ । बैंकको आ.व २०७५/७६ को चौथो त्रैमासीक प्रतिवेदन सार्वजनिक गर्दै नाफा भन्दा पनि बित्तिय पहुँच पुर्याउन शाखा बिस्तार गरिएको उल्लेख गरेको छ ।
उक्त बैंकले गत आर्थिक वर्षमा ३२ वटा नयाँ शाखा स्थापना २०७५ असार मसान्तसम्म ५४ वटा शाखा रहेकोमा नयाँ शाखा बिस्तारसंगै गत असार मसान्तसम्म ८६ शाखा पुगेको बैंकले जानकारी दिएको छ । नयाँ बिस्तार भएका शाखाहरु बैंकिङ्ग पहुँच नभएका दुर्गम ठाउँदेखि बजार क्षेत्रसम्म रहेका छन् ।
शाखा संख्यामा बृद्धि भएको र आगामी दिनमा व्यवसाय बढ्दै जाने बिश्वास लिएको छ । यस्तै निक्षेप तथा कर्जा बृद्धि हुने अपेक्षा गरेको छ । बैंकले रियल स्टेट ब्यापारमा मन्दिका कारण बैंकलाई असर पर्न नदिन आवश्यक नीति अबलम्बन गरेको जनाएको छ । बैंकले नाफाका दृष्टिले मात्र नभई बैकिङ्ग पहुँच बढाउने उदेश्यका साथ शाखा बिस्तार गरेको र त्यो सञ्जालको प्रयोग गरी बैंकको व्यवसाय बृद्धि गर्ने नीति बनाएको छ ।
यद्यपी बैंकले ग्रामिणक्षेत्रमा बैंकको शाखा बिस्तार गर्दा कर्मचारी व्यवस्थापन,बैंकलाई स्वीकारयोग्य धितो, व्यवसाय आकार सानो हुनाले शाखालाई नाफामा चुनौती आईपर्ने औल्याइएको छ । पोखराको सांग्रिला विकास बैंक र नेपालगञ्जको तत्कालिन बागेश्वरी बैंक मिलेर सांग्रिला विकास बैंक बनेको हो । उक्त बैंकका अध्यक्ष नेपालगञ्जका व्यवसायी अच्यूत प्रसाई रहेका छन् ।