बाँकेबाट भारतमा हुने रोजीनको निर्यात रु २५ करोडले घट्यो


  • कमल डाँगी

नेपालगञ्ज – बाँकेबाट भारतमा हुने रोजीनको निर्यात घटेको छ । यहाँ रहेका उद्योगले वार्षिक रु ७५ करोडसम्मको रोजीन भारतमा निर्यात गर्दै आएका थिए । तर दुई वर्षयता घटेर रु ५० करोडमा झरेको छ । विक्री मूल्य घटेको र लागत मूल्य बढेको कारण ठुलो बजार हिस्सा गुमाउनुपरेको खनाल रोजीन उद्योगका सञ्चालक दिवाकर खनालले बताए । उनले भने,–‘यो साल त सबै उद्योग बन्द अवस्थामा छन् ।’

नेपालगञ्ज भञ्सारका अनुसार, गत आर्थिक वर्ष २०७५/७६ मा बाँकेबाट रु ५० करोड ८५ लाख मूल्य बराबरको ४ हजार ७ सय मेट्रिक टन रोजीन भारत निर्यात भएको थियो । त्यस अघिको आर्थिक वर्ष २०७४/७५ मा रु ५४ करोड ९२ लाख मूल्य बराबरको साढे ४ हजार ७ सय मेट्रिक टनकै हाराहारीमा निर्यात भएको थियो । उक्त वर्ष मूल्य ठिकै पाएकाले गत आर्थिक वर्षकै हाराहारीमा रोजीन निर्यात भए पनि झण्डै ५ करोड बढि मूल्य प्राप्त भएको थियो ।

https://nepalgunjbusiness.com/2019/08/9916/

‘रोजीन उद्योग धरासायी हुन थालेकै दुई वर्षयता हो । त्यसअघि राम्रै थियो ।’ खनालले भने–‘सरकारको नीति पनि ठिक भएन । भारतमा मूल्य पनि राम्रो पाउन नसक्दा उद्योग धरासायी भए ।’ नेपालगञ्ज भञ्सारका अनुसार, आर्थिक वर्ष २०७२÷७३ मा झण्डै ७५ करोडको रोजीन निर्यात भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा रु ७३ करोड बराबरको रोजीन भारतमा निर्यात भएको नेपालगञ्ज भञ्सारले जानकारी दिएको छ ।

बाँकेमा खनाल बाहेक, बंगलामुखी, मनकामना, गंगा, लक्ष्मी जस्ता रोजिन उद्योग छन् । लक्ष्मी धेरै पहिले बन्द भई अरुले नै खरिद गरी सञ्चालनमा ल्याएका थिए । यि उद्योगमा झण्डै एक अर्व लगानी छ । एउटा उद्योगमा न्यूनतम रु ५ करोडदेखि अधिकत्म २५ करोडसम्म लगानी भएको छ । हाल सञ्चालनमा रहेका सबै उद्योग बन्दप्राय रहेको खनालले जानकारी दिए । दुई हजारको रोजगारी गुम्दै छ ।

प्रकाशित मितिः     ९ भाद्र २०७६, सोमबार ११:२१  |