नेपालगञ्ज ११ भदौ -प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिको सभापति एवं बाँकेकी नेतृ पूर्ण कुमारी सुवेदीले पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजनामा नेपालगञ्ज बिमानस्थल नपरेको बिषयमा बुझ्ने बताएकी छन् । बुधवार नेपालगञ्जका पत्रकारहरुको प्रश्नको जबाफ दिने क्रममा सुवेदीले भनिन्,–‘नेपालगञ्ज बिमानस्थल किन प्राथमिकतामा परेन म काठमाण्डौं गए मन्त्री ज्यूसंग बुझ्छु ।’
https://nepalgunjbusiness.com/2019/08/10756/
पर्यटन मन्त्रीले केही दिन अघि सार्वजनिक गरेको कार्ययोजनामा नेपालगञ्ज बिमानस्थलको स्तारेन्न्ती र नेपालगञ्ज– दिल्ली उडानका बारेमा केही उल्लेख नभएको भन्दै यहाँ दुःख मनाउन गरिएको छ । पूर्व पर्यटन मन्त्री स्वर्गीय रबिन्द्र अधिकारीले नेपालगञ्ज बिमानस्थलका बारेमा संसदमै बोलेको स्मरण गराउँदै नेपालगञ्जका पत्रकारहरुले ‘तर अहिले पर्यटनमन्त्रीको कार्ययोजनामा किन नपरेको’ भन्दै सुवेदीको ध्यानार्कषण गराएका थिए ।
‘नेपालगञ्ज बिमानस्थललाई क्षेत्रीयस्तरको बिमानस्थल बनाउने कुरा छ । स्वर्गीय रबिन्द्र अधिकारीले यस बिषयमा संसदमै पनि बोलिसक्नुभएको छ । अहिले किन छुट्न गयो बुझ्छु ।’ सुवेदीले भनिन–‘ यस बिषयमा सबै जनप्रतिनिधिले ध्यानार्कषण गराउँछौ ।’ दुई पटक बाँकेबाट जनप्रतिनिधि निर्वाचित भइसकेकी सुवेदीले बाँकेको विकासमा आफुहरुको पहुँच पुग्न नसकेको स्वीकार गरिन । उनले भनिन्,–‘अवसर पाएका बेला धेरै कुरा गर्न सक्थ्यौ । तर अहिले त अवसर र पहुँच दुवै नभएको होकी भन्ने लाग्छ । यद्यपी हामी निरन्तर लागिरहेका छौं ।’