नेपालगञ्ज -शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्ज काञ्जीहाउसमा रहेका गाई सुर्खेतको जंगलमा मृत भेटिएको घटनाबारे छानविन गर्न गृहमन्त्रालयलाई पत्र पठाएका छन् । घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै उनले यसमा छानविन गरी दोषीउपर कारबाही हुनुपर्ने बताए । पत्रमा मन्त्री राईले सामुहिक रुपमा गौहत्या गरिएको विषयमा सर्वसाधारणको आक्रोशलाई मत्थर पार्न गृहले सम्बन्धित निकाय र जिम्मेवार पक्षमाथि छानविन गनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय जनावरको उचित व्यवस्थापन र संरक्षण हुनुपर्नेमा सामुहिक रुपमा गाईलाई भीरबाट खसालेर मार्ने कार्य अन्यन्तै घृणित र अमानवीय भएको भन्दै मन्त्री राईले उक्त कार्यमा संलग्नलाई कडा कारबाही गर्न भनेका छन् । यता ।पशु चौपायको मृत्युको बिषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गर्ने भएको छ । कार्यवहाक मेयर सुनील सिंह हमालले घटनाका बिषयमा ध्यानार्कषण भएको बताउँदै प्रशासनसंगको समन्वयमा छानविन समिति गठन गर्ने जानकारी दिएका छन् । सुर्खेतको कटकुवा सम्म ट्रकमा र त्यहाँबाट पैदलै दैलेखको श्रीस्थान समेतका क्षेत्रमा पु¥याउने क्रममा केही पशुचौपायको मृत्यु हुन गएको भन्ने जानकारी आएकोले सो पशु चौपायहरुको अशक्त, रोगी भएर स्वभाविक मृत्यु भएको हो वा अन्य कारणले हो भन्ने विषयमा यथार्थ छानविनका लागि प्रशासनसँगको समन्वयमा छानविन समिति गठन गरिने हमालले बताए ।
छाडा पशु चौपायाको उचित व्यवस्थापनको लागि सर्वदलीय सर्वपक्षीय बैठकहरुबाट पशुधनी, संघसंस्था, व्यक्ति लगायतलाई निःशुल्क रुपमा पालन पोषणका लागि उपलब्ध गराउने निर्णय गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कान्जिहाउसमा पशु चौपायाको संख्यामा कमी आउन नसकेको उनको भनाई छ । छाडा पशु चौपायाका कारण दिनहु जसो हुने सवारी दूर्घटनाको न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि छाडा पशु चौपायाको सुरक्षित स्थानमा स्थानान्तरण अत्यावश्यक रहेकाले स्थानीय प्रशासन समेतको समन्वयमा कान्जिहाउसमा रहेका छाडा पशु चौपायालाई सुर्खेत हुँदै दैलेख जिल्लाको सुरक्षित स्थानमा पुर्याउने पवित्र उद्देश्य बमोजिम सुरक्षित साथ छाडा पशु चौपायालाई पठाईएको हमालले बताए ।