गाई प्रकरणमा मेयर राणाले भने,–‘राम्रै होस् भनेर काम गरेका थियौं यस्तो दुर्घटना भयो ’


नेपालगञ्ज १७ भदौ – गौहत्या प्रकरणमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले मुख खोलेका छन् । उक्त घटना हुँदा बाहिर रहेका मेयर राणाले नेपालगञ्ज आएपछि आज मंगलवार बिहान यहाँका पत्रकारसंग भेटघाट गरे । राणाले पत्रकार माझ गाई प्रकरणमा आफ्ना कुरा मात्र राख्न राखेनन् सल्लाह, सुझाव समेत लिए ।

‘गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै आज यो दुर्घटना हुन गयो’ मेयर राणाले भने–‘राम्रो होस् भनेर गरेको काममा यस्तो नतिजा आयो । आज नेपालगञ्जको यो बिषयले देशभर प्राथमिकता पाएको छ । यसको समाधान कसरी गर्ने भन्ने बिषयमा तपाईबाट सल्लाह सुझाव चाहियो ।’ गाई व्यवस्थापनका लागि धेरै प्रयास भए पनि सफल हुन नसकिएको मेयर राणाले स्पष्ट पारे ।

‘गाई व्यवस्थापनका लागि बाँके राष्ट्रिय निकुञ्जसंग कुरा गर्दा उसले नमान्ने, वनसंग कुरा गर्दा वनले नमान्ने, मुख्यमन्त्रीसंग कुरा गर्यौ सक्दिन भन्नुभयो । नेपालगञ्जका नागरिकहरुको सहयोग समेत लिएर गाई व्यवस्थापनमा काम गरेकै थियौं ।’मेयर राणाले भने–‘एक्लो प्रयासमा नसकिने रहेछ ।’ मेयर राणाले बर्दियाको बाँसगढी नगरपालिका लगायतले पहाडी जिल्लामा गाई पठाएको थाहा पाए पछि आफुहरुले पनि गाई दैलेख पठाएको बताए ।

‘कार्यकारी प्रमुखले पत्र लेख्नुभयो । सम्बन्धित ठाउँमा कुरा गर्नुभयो । हाम्रो नगर प्रहरी निरीक्षककै अगुवाईमा गाई पठाइएको हो ।’मेयर राणाले भने–‘त्यसै पनि बिरामी गाई । कान्जीहाउसमा बसेका । यहाँबाट ट्रकमा लैजादा त्यही भित्र मरे छन् । गाई मरेको देखेपछि आत्तिए जङलमै छाडे छन् ।’ मेयर राणाले गौहत्या नभई दुर्घटना भएको बताए । उनले गाई भिरबाट नखसालेको स्पष्ट पारे । ‘गाई मरेपछि आत्तिएर छाडेको रहेछन् । त्यस बाहेक भिरबाट खसालेर मारेको शतप्रतिशत गलत हो । यो सोंच्न नसकिने कुरा कहाँबाट आयो ? बुझ्न सकिएन ।’– राणाले भने । मेयरले गाई व्यवस्थापनका लागि सबैसंग सहकार्य गर्ने बताए ।

प्रकाशित मितिः     १७ भाद्र २०७६, मंगलवार ११:३०  |