आहा ! कुपिन्डे ताल


नेपालगञ्ज – रङ बदलिरहने कुपिन्डे ताल सुनसान छ । प्राकृतिक, सांस्कतिक तथा ऐतिहासिक महत्वका हिसाबले यो तालको महत्व र महिमा ब्यापक हुँदै छ । सल्यान जिल्लामा पर्ने कुपिन्डे तालले पर्यटकको मन लोभ्याइरहेको छ । चैत्रदेखि जेठ अन्तिमसम्म आउने पर्यटक कुपिन्डेको सुन्दरताभित्र हराउँछन र उसको निर्मल र शान्त अनुहारलाई मनमा कैद गरेर फर्किछन् । सल्यानको बनगाँड कुपिन्डे नगरपालिकापर्ने यो ताल आजभोलि ग्रामीण पर्यटन केन्द्र रुपमा विकास भएको छ । जैविक विविधता युक्त र प्राकृतिक सुन्दरताले भरिपूर्ण कुपिन्डे दह मनोरम र आकर्षक गन्तव्य बन्दै गएको छ ।

सल्यानबाट मात्र नभई विभिन्न जिल्लाबाट कुपिण्डे दह हेर्न आउनेको संख्या बढ्दै गएको अध्यक्ष कंवरले बताउनु भयो । चारैतिर हरियाली रुख अनि सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महशुस गराउँछ । २३.५३ हेक्टरमा क्षेत्रफलमा फैलिएको कुपिण्डे दह ८ सय ३४ मिटर चौडाइ र ५ सय ३८ मिटर गहिराईमा रहेको छ । दहलाई धार्मिक दृष्टिले हेर्दा परापूर्वकालमा गाउँमा एकदिन साँधु बास आएका थिए रे । साँधुलाई कसैले बाँस बस्न दिएनन् । निराश हुँदै ती साधु एक वृद्धको घरमा पुगेछन । वृद्ध गरिव भएको थाहा पाएपछि भोलिपल्ट साँधुले ती वृद्धालाई भनेछन, ‘म कैलुवराह हुँ’ अरुलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिन भरमा डुबाइदिन्छु भनेर गाउँनै डुवाइदिएर दह बनाएको भन्न किम्वदन्ती रहेको छ ।

पर्यटक गन्तव्यका रूपमा रहेको यस दहमा घुम्न आउने पर्यटकको संख्या बढे पनि आवश्यक सुविधा दिन भने कठिन भएको ताल संरक्षण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष झरेन्द्र कंवरले बताए । कंवरका अनुसार कुपिण्डेमा पर्यटकहरु बाँस बस्न भने खलंगामा जानुपर्ने बाध्यता रहेको छ । कुपिण्डे क्षेत्रमा राम्रो होटेलको व्यवस्था गर्न सकिए पर्यटकको संख्या अझ बढ्ने उनको विश्वास छ । संरक्षण समितिले दहमा डुङ्गा समेत सञ्चालनमा ल्याएको छ । स्थानीय समूदायको कला,संस्कृति भेष(भूषा, भाषा, धर्म, रीतिरिवाज,चालचलन तथा ग्रामीण क्षेत्रबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यवलोकन गर्दा सल्यानको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुगेको स्थानीय बताउँछन ।

कुपिण्डे ताल हेर्न आउँनेको संख्या अघि पछिको भन्दा दशैं तिहारको बीचमा अत्यधिक हुने गर्दछ ।अहिले विशेषगरी शनिबारको दिन तीन/चार सय भन्दा बढि पर्यटक आउने गर्दछन । विशेष गरी सुर्खेत,जाजरकोट, रूकुम,दाङ,बाँके र बर्दिया लगायत देशका अन्य विभिन्न ठाउँबाट ताल हेर्न आउने संख्या अत्याधिक रहेको छ। वरपर पहाडका बीच अवस्थित सल्यानको कुपिण्डे दह प्राकृतिक रूपले निकै सुन्दर देखिन्छ । पहाडको बीच भागमा आकाशझैँ फैलिएको निलो ताल अनि उत्तरमा देखिने हिमश्रृंखला र हरियालीले त्यहाँ पुग्ने जो कसैको मन लोभिन्छ । हाँस, जलेवा, मालश्री जस्ता चरा जल क्रिडामा मग्न भएको देख्दा जो कोहीलाई मग्न हुन मन लाग्छ ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रमुख केशव न्यौपानले कुपिन्डे तालले मन लोभ्याएको बताए । हालै मात्र पहिलो पटक उक्त ताल घुमेर फर्केका न्यौपानले भने,–‘धार्मिक तथा अन्य पर्यटनका लागि कुपिन्डे ताल उत्कृष्ट रहेछ । यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।’

पर्यटन बजार डटकमलाई सन्र्दभ सामाग्रीका रुपमा प्रयोग गरिएको छ ।

प्रकाशित मितिः     १७ भाद्र २०७६, मंगलवार ११:४६  |