- क्यापिटल नेपालबाट
काठमाडौ । चिनियाँहरुले एटीएम ह्याक गरेर करोडौ रुपैयाँ चोरेपछि बैङ्कहरुको एटीएम नचल्दा ग्राहको गुनासो बढेको छ । एटीएम नचलेर पैसा झिक्न नपाएपछि ग्राहकहरुले नेपाल राष्ट्र बैङ्कमा गुनासो गर्न थालेका छन । नेपालका अतिरित्त भारतबाट पनि गुनासो आएको राष्ट्र बैङ्कका प्रवत्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । एटीएममा समस्या आएको जानकारी गराउँदा पनि सम्बन्धित बैङ्कले चासो नदेखाएको गुनासो आएको प्रवक्ता निरौलाले बताए ।
उनले एटीएम नचलेमा सम्बन्धित बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सहायक प्रमुख कार्यकारी अधिकृतलाई फोन गर्न भनेपनि उनीहरुबाट गुनासो सम्बोधन नभएको निरौलाको भनाई छ । गत भदौ १४ गते नेपाल पेमेन्ट सिस्टम (नेप्स)को सिस्टम ह्याक गरी ह्याकरहरुले ठुलो रकम चोरी गरेपछि उसमा आवद्द बैङकहरुको एटीएममा लगातार समस्या देखिएको छ ।
बाहिरका एटीएममा धेरै समस्या देखिएको राष्ट्र बैङ्कले जनाएको छ । जुनसुकै स्थानमा भएका बैङ्कका एटिएममा समस्या आए पनि सिधै सीईओ र सहायक सीइओहरुलाई सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको थियो । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले समस्या समाधानका लागि बैङ्कहरुले व्यवस्था गरिसकेको बताए । बैङ्कका सीइओ तथा डेपुटी सीईओहरुलाई सिधै र इमेलबाट पनि सम्पर्क गर्न सकिने गरी व्यवस्था गरेको अध्यक्ष ढुंगानाले बताए । भोली आइतबारसम्म सबै एटीएमहरु चल्ने उनले जानकारी दिए ।