‘पारसका बिरुद्ध हस्ताक्षर बुझाउने यही हो’ भन्दै पर्यटन मन्त्री योगेश भट्टराई माथि आक्रमण प्रयास



 

अनलाइनखबरबाट

२८ भदौ, नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले गालीगलौज गरेका छन् । मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री भट्टराईले चाहिँ विमान चढ्न  ढीलो भएकोमा क्षमा मागेका छन् ।

युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको हो । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै शाहीको टोलीले मन्त्रीमाथि हप्कीदप्की गरेको भिडियोमा देख्न सकिन्छ ।

हामी तपाईलाई सम्मान गर्छौं भन्दै मन्त्रीलाई थर्काएपछि शाहीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।’

पर्यटन मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उदघाटन गर्न धनगढी हुँदै बाँके पुगेका थिए । कार्यक्रम सकेपछि शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरमा काठमाडौं फर्किएका छन् ।

कार्यक्रम सकेर नेपालगञ्ज विमानस्थलमा आइपुग्दा प्लेन छुट्ने समय केही ढीलो भएको थियो । तर, एक घण्टासम्म नभई १५ मिनेटमात्र ढीलो भएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईको दाबी छ । गुरागाईले अनलाइनखबरसँग भने, ‘हामी बाटोमा आउँदा राजमार्गमा गाईवस्तुले बाटो छेकेका कारण केही ढीलो भयो ।

‘त्यहाँ ज्ञानेन्द्र शाही र उनका सहयोगीहरु भिडियो खिच्न तयार भएर बसेका रहेछन्, हामीलाई किन कुराएको भन्दै मन्त्रीज्युलाई गालीगलौज गरे,’ गुरागाईले भने, ‘मन्त्रीज्यूले त्यहाँ कुनै प्रतिक्रिया नदिई मौन बस्नुभयो ।

भ्रष्टाचार विरोधी कार्यक्रम गरेर नेपालगञ्जबाट काठमाडौं फर्कन लागेको ज्ञानेन्द्र शाहीको टोलीले विमानभित्र र बाहिरसमेत मन्त्री भट्टराईलाई थर्काएको भिडियोमा देखिन्छ, जसलाई शाहीले ‘मन्त्रीलाई रामधुलाई गरिएको’ भनेका छन् ।

शाही र उनको टोलीले विमानभित्र मन्त्री भट्टराईलाई हप्काउँदै भनेका छन् –

‘तपाईले हाम्रो प्लेन किन रोकेको ? एक घण्टासम्म प्लेन रोक्ने ? तपाई कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि केमा हुनुहुन्थ्यो ? ख्याल राख्नुपर्दैन टाइमको ? संविधान तपाईले बनाएको, संविधानको कुन सेक्सनमा लेख्या छ मन्त्रीले प्लेन रोक्ने भनेर ? कहिले प्रधानमन्त्री आउने प्लेन २ घण्टा जान गर्दिने, यसको जवाफ दिनोस् । हामी रेक्सपेक्ट गर्छौं, तर यो तरिका भएन मन्त्रीज्यू, बुद्धिमा अलिकति बिर्को आओस् ।.. पञ्चायतमा यस्तो हुँदैनथ्यो । संस्केति मन्त्री हुनुहुन्छ, संस्कारै छैन । हामीले जवाफ माग्यौं, मन्त्रीज्यूले जवाफ दिनुभएन, हामी फेरि पनि सोसियल मिडियामार्फत् जवाफ खोज्नेछौं, तर हामी छोड्दैनौं ।’

यस विषयमा मन्त्री भट्टराईले यसरी मुख खोल्नु भएको छ ।

प्रकाशित मितिः     २८ भाद्र २०७६, शनिबार २२:५१  |