शहरका घरमा पानी पस्यो, राती कसरी सुत्ने ?


बाँके १ असोज – बुधवार बिहानैदेखि परेको पानीका कारण नेपालगञ्ज उपमहानगरपालिका जलमग्न भएको छ । शहरका मुख्य ठाउँका घरहरु डुवानमा परे । बिहान साढे बजेबाट पर्न थालेको पानी बढ्दै गएपछि नेपालगञ्जसहित आसपासका क्षेत्रहरु डुवानमा परेका हुन ।नेपालगञ्जको घरबारीटोल, न्यूरोड, सेतुबिक चौक, धम्बोजी चौकलगायतका क्षेत्रहरु जलमग्न भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले नाली सफा गर्ने काम भइरहेको जनाएको छ । राप्ती नदीमा भने पानीको सतह सामान्य छ । बिहानदेखि भएको लगातार बर्षातका कारण नेपालगञ्जबाट हिमाली र पहाडी जिल्लामा हुने सम्पूर्ण उडान प्रभावित भएका छन् । बिहान डोल्पाबाहेक अन्य कुनै दुर्गम जिल्लामा विमान

उडान नभएको नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । उनले हिमाली र पहाडी भेगमा हुस्सु र कुहिरो लाग्ने र दुर्गभ भेगका विमानस्थल गुणस्तरीय नभएकोले उडान प्रभावित भएको बताए । उनले दुर्गम जिल्लाका उडान प्रभावित भएपनि नेपालगञ्ज काठमाण्डौ र काठमाण्डौ नेपालगन्ज नियमित उडानलाई वर्षाले असर नगरेको बताए । नेपालगञ्ज क्षेत्रमा बुधवार बिहानैदेखि मुसलधारे वर्षा भएपनि बुद्ध, यती र श्री एयरलायन्सको नियमित उडान प्रभावित नभएको उनले बताए । दिउँसो श्री एयरलायन्सको विमान काठमाडौंबाट नेपालगन्ज विमानस्थलमा आएर फर्किएको उनले बताए ।

मुसलधारे वर्षा भए पनि विमान उडान र अवतरणका लागि आवश्यक पर्ने पर्याप्त भिजिविलिटी भएका कारण उडानमा कुनै असर नपरेको कार्यालय प्रमुख ठाकुरले बताए । बुधवार बिहान ७ बजेबाट शुरु भएको वर्षा प्रतिघण्टा १८.७ मिलिमिटर (एमएम) परिरहेको जल तथा मौसम विज्ञान विभाग, नेपालगञ्जका फिल्ड इञ्चार्ज पलबहादुर विकले जानकारी दिए । उनले दिनभर ६९.६ मिलिलिटर वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको बताए ।

प्रकाशित मितिः     १ आश्विन २०७६, बुधबार १७:५८  |