खराब मौसमले नेपालगञ्जको हवाई सेवा प्रभावित, बुद्ध एयरको जहाज धनगढी अवतरण


नेपालगञ्ज १ असोज – मौसममा आएको खरावीका कारण नेपालगञ्ज विमानस्थलबाट हवाईजहाजको उडान र अवतरण प्रभावित भएको छ । बुद्ध एयरको एउटा जहाज नेपालगञ्ज अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गराइएको छ । धनगढीमा अवतरण गरेको जहाजका यात्रुलाई बुद्ध एयरले आज होटलमै बस्ने व्यवस्था गर्ने छ । भोली बिहान बुद्ध एयरले नै नेपालगञ्ज ल्याउने व्यवस्था गरेको सोही जहाजका यात्री नेकपा बाँकेका नेता अशोक कर्माचार्यले जानकारी दिए ।

बिहानदेखि भएको लगातार बर्षातका कारण नेपालगञ्जबाट हिमाली र पहाडी जिल्लामा हुने सम्पूर्ण उडान प्रभावित भएका छन् । बिहान डोल्पाबाहेक अन्य कुनै दुर्गम जिल्लामा विमान उडान नभएको नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । उनले हिमाली र पहाडी भेगमा हुस्सु र कुहिरो लाग्ने र दुर्गभ भेगका विमानस्थल गुणस्तरीय नभएकोले उडान प्रभावित भएको बताए । उनले दुर्गम जिल्लाका उडान प्रभावित भएपनि नेपालगञ्ज काठमाण्डौ र काठमाण्डौ नेपालगन्ज नियमित उडानलाई वर्षाले असर नगरेको बताए । नेपालगञ्ज क्षेत्रमा बुधवार बिहानैदेखि मुसलधारे वर्षा भएपनि बुद्ध, यती र श्री एयरलायन्सको नियमित उडान प्रभावित नभएको उनले बताए । दिउँसो श्री एयरलायन्सको विमान काठमाडौंबाट नेपालगन्ज विमानस्थलमा आएर फर्किएको उनले बताए ।

प्रकाशित मितिः     १ आश्विन २०७६, बुधबार २०:४८  |