मारुती सुजुकी : यस्तो छ नेपाली बजारमा सफल हुनुको कारण


मारुती सुजुकी नेपालको सर्बाधिक लोकप्रिय सवारी ब्रान्ड हो । सन् १९८१ मा सिजी मोटोकर्प अन्तर्गतको अरुण इन्टरकन्टिनेन्टल प्रालिले कारोबार थाले यता हालसम्म यसका ४० हजार बढी कार नेपाली बजारमा बिक्री भैसकेका छन् । मारुती ८०० बाट प्रारम्भ भएको यसको यात्रा हाल अल्टो, के१०, वागन आर, सेलिरियो, स्विफ्ट, डिजायर, सियाज, बलेनो, एसक्रस, भिटारा, भिटारा ब्रेजा, एक्सएल६, ओम्नी भ्यान तथा कार्गो र इको भ्यान तथा कार्गो गरी १ दर्जन बढी मोडलमा बिस्तार भएको छ ।

भारत र नेपालमा विगत लामो समयदेखि बजारको नेतृत्व गर्न सफल यो ब्रान्ड बलियो तथा मजवुत बनावट, अत्याधुनिक तथा सुविधासम्पन्न विशेषता, आकर्षक लुक्स तथा डिजाइन, सुलभ मूल्य, उच्चतम माइलेज र सर्वसुलभ स्पेयर पार्ट्स तथा सर्भिसिङका कारण उपभोक्तामाझ लोकप्रिय छ ।

सुलभ मूल्यका कारण यसलाई नेपाली बजारमा सर्बाधिक ‘अफोर्डेबल’ कारका रुपमा समेत लिने गरिन्छ । ३५ भेरिएन्टमा उपलव्ध विभिन्न मोडल मध्ये सुजुकीको सवैभन्दा सस्तो कार अल्टो एसटिडीको मूल्य १९ लाख रुपैयाँ तोकिएको छ भने सबैभन्दा महंगो मोडल एसक्रस अल्फालाई ४९ लाख रुपैयाँ पर्छ । मूल्य जत्तिकै यसको स्पेयर पार्ट्स तथा बिक्रीपछिको सेवा पनि सुलभ छ ।

देशका ३० भन्दा बढी स्थानमा नेटवर्क विस्तार गरी कम्पनीले बिक्री र बिक्री पछिको सेवामा सहजता प्रादान गर्दै आइरहेको छ । जसका कारण उपभोक्तालाई सुजुकी गाडी खरिद गर्न र खरिद पश्चात सेवा/सुविधा उपभोग गर्न समेत सजिलो बनाएको छ ।

सुजुकी एउटा आधुनिक एवं सुविधासम्पन्न कारमा उपलव्ध हुनुपर्ने प्रायः सवैजसो फिचर्सबाट सुुसज्जित त छ नै यसको अलावा नेपालको भूगोल सुहाउँदो, आरामदायी र सुरक्षित समेत छ । जसका कारण यसको सबैभन्दा सानो र सस्तो कार अल्टोमै कठिन बनावट भएका भूगोलमा समेत निर्धक्क भएर यात्रा गरिरहेका चालक तथा यात्रुहरु भेट्न सकिन्छ । यी र यस्ता बिशेषताले सुजुकीलाई विशिष्ट बनाएको छ ।

नेपाली बजारमा यो ब्रान्डको लोकप्रियता कायमै रहनुमा विभिन्न पक्षहरुले महत्वपूर्ण भुमिका खेलेको छ ।

सर्बाधिक सेल्स एन्ड आफ्टर सेल्स नेटवर्क
प्यासेन्जर कार सेग्मेन्टमा सुजुकीले सवैभन्दा बढी थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) नेटवर्क सञ्चालन गर्दै आइरहेको छ । पूर्बमा झापादेखि पश्चिममा डडेल्धुरासम्म डिलर नेटवर्क बिस्तार गरेको कम्पनीले सवैभन्दा बढी सवारीसाधनको चाप हुने काठमाडौंमा मात्र १० वटा सेल्स नेटवर्क बिस्तार गर्न सफल भएको छ ।

यसैगरी उपत्यकाभित्र ५ स्थानमा सर्भिस सेन्टर सञ्चालन गरेको छ । उपत्यका बाहिर सञ्चालनमा रहेको सवैजसो डिलरले थ्री एस सेवा उपलव्ध गराउँदै आइरहेका छन् । यत्रतत्र डिलर र सर्भिस नेटवर्क स्थापना भएको हुँदा उपभोक्तालाई सुजुकी कार प्रयोग गर्न उच्च आत्मबल मिल्ने देखिन्छ । जसको प्रभाव स्वरुप हरेक बर्ष बिक्री बढिरहेको छ ।

सस्तो र सर्बसुलभ स्पेयर पार्ट्स
कार धनीमाझ एउटा भनाई निकै प्रचलित छ त्यो हो ‘मारुती सुजुकीको स्पेयर पार्ट्स किराना पसलमा खोज्न गए पनि पाइन्छ ।’ हो यही भनाइले यसको स्पेयर पार्ट्स निकै सर्वसुलभ रहेको पुष्टि गर्छ । कार पुग्ने सवैजसो स्थानमा सुजुकी स्पेयर पार्ट्स सहजै उपलव्ध हुन्छ भन्ने विश्वास कम्पनीले दिएको छ ।

स्पयेर पार्ट्सको मूल्य अन्य ब्रान्डको तुलनामा सस्तो पर्ने हुँदा मर्मत सम्भार खर्च समेत कम पर्न जान्छ । जसले गर्दा मारुती सुजुकी गाडी प्रयोग गर्नु आर्थिक हिसावले निकै किफायती मानिन्छ । माइलेजको मामलमा समेत सुजुकी अन्य ब्रान्डको तुलनामा अगाडि नै छ ।

उत्कृष्ट रिसेल भ्याल्यु
सुजुकीको कार किनेपछि फेरि बेच्नु प¥यो भने भनेको समयमा बिक्री नहोला कि भनेर चिन्ता लिइरहनु पर्दैन । रिकन्डिसन बजारमा सवैभन्दा बढी माग सुजुकी कारकै भएको हुँदा यी कार प्रयोग पश्चात सजिलै सेकेन्ड ह्यान्ड बजारमा बिक्री गर्न सकिन्छ । त्यो पनि उत्कृष्ट रिसेल भ्याल्युका साथ ।

अहिले बजारमा सवैभन्दा बढी रिसेल भ्याल्यु सुजुकी कारकै रहेको रिकन्डिसन कार कारोबार गर्ने व्यवसायीहरु बताउने गर्छन् । खरिद गरेको छाटो समयमै बिक्री हुने हुँदा उनीहरुको रोजाइमा समेत सुजुकी ब्रान्ड नै पर्ने गरेको छ । नयाँ गाडी खरिद गरेर ५ बर्षसम्म ढुक्कका साथ प्रयोग गरी सेकेन्ड ह्यान्ड बजारमा बिक्री गर्दासमेत उच्च मूल्य आउने हुँदा यो ब्रान्डप्रति उपभोक्ताको आकर्षण झनै बढ्दो क्रममा छ ।

प्रकाशित मितिः     २ आश्विन २०७६, बिहीबार ०९:३२  |