डुइङ बिजनेस इन्डेक्समा नेपालले १६ अंक सुधार गर्दै ९४ औं स्थानमा


काठमाडौं। गत वर्षभन्दा १६ स्थान सुधार गर्दै नेपाल इज अफ डुइङ बिजनेस इन्डेक्समा माथि उक्लिएको छ। विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्सको सूचीमा नेपाल अघिल्लो वर्ष ११०औं स्थानमा रहेको थियो । यस वर्ष नेपाल सूचीको ९४ औँ स्थानमा उक्लिन सकेको अध्ययनले देखाएको छ। नेपालले कुनैपनि निर्माण अघिका प्रक्रियाहरुलाई सहज बनाएको, भवन निर्माण इजाजतका शुल्क घटाएको तथा अनलाइन मार्फत प्रक्रियाहरुलाई थप सुधार गरेको उल्लेख छ। यस्तै नेपालले कर्जा प्रणाली तथा त्यसबारे बृहद सूचना दिने संयन्त्र र पहुँच स्थापित गरेको पनि अध्ययनमा छ। नेपालले वीरगंजमा भारतसँग एकीकृत भन्सार चेक पोष्ट सुरु गरेर निर्यात आयातको ब्यापारकालागि समय र लागतलाई समेत न्यून गर्न सघाएको अध्ययनले देखाएको छ। यसैगरी नेपालले ब्यापार सम्झौताहरु सहज बनाएको उल्लेख छ। तथापि दुईवटा बुँदामा भने ब्यापारलाई असुविधाजनक बनाएको अध्ययनले देखाएको छ।

प्रतिवेदन अनुसार नेपालमा रोजगारदाता कम्पनीहरुले कर्मचारीको सामाजिक सुरक्षा प्रबन्ध गर्नुपर्ने हुँदा सुरुवाती चरणमा कामदारको ‘इन पर्सन फलो अप’ मा बढी समस्या देखिने पनि उल्लेख छ। यस्तै नेपालमा सम्पत्ति दर्ता  बढी महंगो भएको उल्लेख छ। सम्पत्ति हस्तान्तरण शुल्क बढेको तर्फ पनि अध्ययनले इंगित गरको छ। नेपालले आफ्नो मालपोत प्रणालीहरुमा भने सुधार गरेको  अध्ययनमा उल्लेख छ।

सर्वाधिक सुधार गर्ने विश्वका टप २० देशहरुमा भने नेपाल पर्न सकेन। सर्वाधिक सुधार गर्ने देशहरुमा चीन भारत, पाकिस्तान, साउदी अरब, जोर्डन, टोगो, बहराइन, ताजकिस्तान, कुवेत,  नाइजेरियालगायत देश छन्। विश्व बैंकले सन् २०१८ को मे महिनादेखि सन् २०१९ मे सम्मको अध्ययनका आधारमा सन् २०२०कालागि यो इन्डेक्स सार्वजनिक गरेको जनाएको छ। डुइङ बिजनेस इन्डेक्समा प्राप्त अंकहरुका आधारमा कुनैपनि देशको अर्थतन्त्रमा सुधार आएको नआएको, विदेशी लगानी आकर्षित गर्ने वातावरण भए नभएको मापन गरिँदै आएको छ। यो विश्वका १ सय ९० देशको समग्र अध्ययनमा आधारित रहेको पनि विश्व बैंकले जनाएको छ।

भारतले पनि यसवर्ष १४ अंक सुधार गर्दै ६३ औं स्थानमा उक्लिएको छ। गत वर्ष भारत ७७ औं स्थानमा थियो। भारतले लगातार ३ वर्षदेखि सुधार गर्दै अत्यधिक सुधार भएको देशको टप टेन सूचीमा पर्न सफल भैरहेको छ। भारत दक्षिण एशियाली देशहरुमध्ये सबैभन्दा अग्र स्थानमा छ। दोस्रो स्थानमा भुटान रहेको छ भने नेपाल तेस्रो स्थानमा रहन सफल भएको छ। भुटान विश्वसूचीमा ८९ औं स्थानमा रहेको छ।  नेपालपछि चौथो स्थानमा श्रीलंका रहेको छ। यो विश्व सूचीमा ९९ औं स्थानमा छ। दक्षिण एसियाको इन्डेक्समा सबैभन्दा तल भने अफगानिस्तान रहेको छ। यो विश्व सूचीमा १ सय ७३ औं स्थानमा छ।

प्रकाशित मितिः     ८ कार्तिक २०७६, शुक्रबार ०८:२०  |