कर्णालीको ‘डिटरजेन्ट’


सुर्खेत ८ कात्र्तिक – सदस्यबाट निक्षेप संकलन गर्ने र कर्जा प्रवाह गर्ने ! सम्भवत सहकारीप्रति धेरैको धारणा यस्तै बनेको छ । उत्पादनमुलक क्षेत्रमा काम नगर्दा सहकारी आलोचित छन् । तर सुर्खेत बिरेन्द्रनगर –६ स्थित पाइनियर वहुउदेश्यीय सहकारी संस्था लिमिटेड भने आमबुझाईका सहकारी भन्दा भिन्न छ । भिन्न यस मानेमा की उसले निक्षेप संकलन गर्ने र कर्जा लगानी गर्ने मात्र नभई संस्थालाई उत्पादनमुलक क्षेत्रमा समेत संलग्न गराइरहेको छ ।

४७ सय शेयर सदस्य रहेको उक्त सहकारीले प्रदेशकै पहिलो ‘पाइनियर डिटरजेन्ट पाउडर सोप एण्ड केमिकल उद्योग’ सञ्चालनमा ल्याएको छ । गत भदौ महिनादेखि उक्त उद्योगबाट उत्पादित ‘पिएमसी ब्राण्ड’ को डिटरजेन्ट पाउडर बजारमा विक्री भइरहेको अध्यक्ष भिमबहादुर भण्डारीले बताए । ‘अहिले सुर्खेतका उपभोक्ता माझ हाम्रो डिटरजेन्ट पाउडर रुचाइएको छ ।’ अध्यक्ष भण्डारीले भने–‘स्थानीय र त्यसमा पनि सहकारीको उत्पादन भएकाले सबैले माया गर्नुभएको छ ।’ रु ७५ लाख लगानीमा उद्योग सन्चालनमा आएको हो । प्रत्यक्षरुपमा ९ जनाले रोजगारी पाएका छन् । डिटरजेन्ट पाउडर उत्पादनको तीन महिना ठिकै रहेको व्यवस्थापक मिनबहादुर नेपाली बताउँछन् । ‘ठुला –ठुला उद्योगले उत्पादन गरेको डिटरजेन्ट पाउडर बजारमा छ्याप्छ्याप्ती छन् । उनीहरुसंग हामीले प्रतिस्पर्धा गर्न कठिन भए पनि हामीले छोटो समयमै ग्राहकको मन जितेका छौं ।’ नेपाली भन्छन्–‘गुणस्तरीय र उचित मूल्यमा पाइने पिएमसी पाउडर एकपटक प्रयोग गरेपछि फेरीफेरी यही आइरहनुभएको छ ।’

शेयर सदस्य,स्थानीय होटल, अस्पताल, स्थानीय उक्त डिटरजेन्ट पाउडरका ग्राहक हुन । अहिले जिल्लामा मात्र सिमित भए पनि आगामी दिनमा प्रदेशभरको बजारमा पुग्ने लक्ष्य बनाएको अध्यक्ष भण्डारी बताउँछन् । त्यसका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउँदै भण्डारीले भने,–‘सहकारीलाई उत्पादनमुलक काममा जोड्न खोजेका छौं । यसमा सबैको साथ र सहयोग चाहिएको छ । हामी गुणस्तरमा सम्झौता गर्दैनौ । त्यसो भएपछि पक्कै पनि उपभोक्ताले हाम्रा उत्पादनलाई माया गर्नुहुनेछ ।’

सहकारीलाई उत्पादनमुखी कार्यमा जोड्ने उदेश्यले केही महिना अघि शेयर सदस्य माधव खनालको संयोजकत्वमा डिटरजेन्ट पाउडर एवं सोप उद्योग सन्चालन सम्बन्धी उपसमिति गठन गरेको थियो । सोही समितिको सक्रियतामा उद्योग सन्चालन भएको हो । आगामी दिनमा प्लाष्टिकको प्रशोधन, सावुन उत्पादन गर्ने योजना बनाइरहेको छ । घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले सहकार िलगायत साना उद्योगबाट उत्पादित सामाग्ीको बजारिकरण आवश्यकता रहेको बताउँछन् । उनले सरकारी तहबाट सहयोग दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः     ८ कार्तिक २०७६, शुक्रबार १५:२३  |