चाडपर्व सकिएसंगै नेपालगञ्जका व्यवसायीलाई संघको चुनावले छुन थाल्यो


नेपालगञ्ज १८ कात्र्तिक – ठुला चाडपर्व सकिएको छ । चाडपर्व सकेर सबै जना आ–आफ्ना नियमित काममा लाग्न थालेका छन् । तर नेपालगञ्जका उद्योगी, व्यवसायीलाई भने चुनावी चस्काले छुन थालेको छ । यस क्षेत्रकै सबैभन्दा ठुलो निजी क्षेत्रको अगुवा संगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन आगामी माघ महिनासम्म हुने निश्चित छ ।

मंसिरमा दश गतेसम्म निर्वाचनको मिति तय गर्न हुन्छ । अहिले संघ साधारणसभाको तयारीमा रहेका अध्यक्ष नन्दलाल बैश्य बताउछन् । २८ औं साधारणसभालाई भब्य बनाउने योजना रहेको उनले बताए । नेपाल उद्योग वाणिज्य संघमा यसअघि भएको निर्वाचनमा तीन हजार मतदाता थिए । अहिले भने झण्डै १५ सयले नविकरण गरेका छन् ।

संघको चुनाव जनप्रतिनिधि चुन्ने चुनाव भन्दा कम हुन्न । प्रचार,प्रसार र आन्तरिक जोडघटाउ, र्यालीले नेपालगञ्ज तताएको हुन्छ । व्यवसायीहरु प्यानल बनाएर चुनाव लड्छन् । बजारमा घरदैलो अभियान शुरु गर्छन् । व्यवसायीको चुनावलाई राजनीतिक दलहरुले आफ्नो अस्तित्वसंग पनि जोड्ने गरेका छन् । हालसम्म राजनीतिक दलसंग जोडिएर प्यानल बनाउने गरिएको छ । त्यो यसपाली पनि हुने निश्चित छ । राजनीतिक दलले आफ्नो अस्तित्वसंग जोडेर व्यवसायीहरुलाई सहयोग गर्न गए पनि कतिपय व्यवसायीहरु भने सबै प्यानलमा मिलेर चुनाव लड्ने गरेका छन् ।

चुनाव आउन अझै समय भए पनि व्यवसायी माझ चर्चा परिचर्चा शुरु भइसकेको छ । को कताबाट उठ्ने र कतिवटा प्यानल बन्ने भन्ने बिषयमा कोठे बैठकमा बिस्तृत छलफल हुन थालेका छन् । उक्त छलफल अब भने खुलेर हुने निश्चित छ ।

प्रकाशित मितिः     १८ कार्तिक २०७६, सोमबार १४:०८  |