बाँके १८ कात्र्तिक – मन्त्रिपरिषदले बैठक राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सातवटै प्रदेशको नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । प्रदेश २ मा पुराना बामपन्थी नेता र कुनै बेला शिक्षण पेशा समेत सम्हालेका तिलक परियार प्रदेश प्रमुख नियुक्त भएका हुन । परियार दलित तथा बर्गीय मुक्ती आन्दोलनमा लागेका मध्ये पुराना बामपन्थी नेताका रुपमा परिचित छन् साथै शालिन र भद्र नेता पनि । रोल्पाको लिवाङ्गमा २००० साल कात्र्तिक १५ गते जन्मिएका परियार पढाईको शिलशिलामा वनारस पुगेका थिए । त्यसबेला उच्च शिक्षा हासिल गर्ने नेपालीहरु वनारसमा पुग्थे । आईए पढ्न वनारस पुगेका उनी नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको सम्पर्कमा जोडिए ।
नेकपाका संस्थापक पुष्पलालले वनारसबाटै कम्युनिष्ट पार्टीको गतिविधि गर्थे । सोही क्रममा पुष्पलालको हातबाट परियारले वनारस पढ्दै गर्दा २०२१ सालतिर कलिलै उमेरमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य लिए । पार्टी सदस्यता लिए पछि अध्ययनसंगै राजनीतिक गतिविधिमा सक्रिय भए । परियार २०२५ सालमा गोरखपुरमा सम्पन्न तेस्रो अधिवेशनमा प्रतिनिधि भएर सहभागि भएका थिए । २०२९ सालमा भएको चौथो अधिवेशनपछि भने उनी मोहनबिक्रम सिंहसंग राजनीतिक यात्रा शुरु गरे । २०४५ सालमा आउँदा उनले प्रचण्ड नेतृत्वको एकता केन्द्र हुँदै २०५१ सालदेखि नेकपा माओवादीसंग जोडिए । दश वर्षे माओवादी आन्दोलनमा सक्रिय भएका मध्ये पुराना नेतामा उनी पनि पर्छन् ।
शान्ति सम्झौता पछि बनेको अन्तरिम संसदमा परियार सांसद थिए । २०६४ सालको निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । पहिलो संविधानसभा भंग भए पछि भने उनी मोहन बैद्यसंगै नयाँ पार्टी राजनीतिमा लागेका थिए । रामबहादुर थापा बादलसंगै पुन माउ पार्टीमै जोडिएका परियार अहिले नेकपाको केन्द्रीय सदस्य र दलित मुक्ती संगठनको केन्द्रीय संयोजक रहेका छन् । उनका तीन छोरा र चार छोरी छन् । बिएसम्म अध्ययन गरेका परियारले बाँकेको राप्तीपारी शिक्षक भएर विद्यार्थी समेत पढाए ।
रोल्पादेखि उनको परिवार धेरै पहिलो बाँके सरेर आएको थियो । राजनीतिक जिवनमा थुप्रै उताडचडाव व्यहोरेका परियार दलित मुक्त आन्दोलनसंगै बर्गीय आन्दोलनमा समेत सहभागि भए । प्रदेश प्रमुखको जिम्मेवारी दिएकोमा सरकारलाई धन्यवाद दिदै परियारले भने,–‘ठुलो संघर्षले संघीयता प्राप्त भएको छ । म त्यस मध्ये एउटा प्रदेशको अभिभावकीय जिम्मेवारीमा पुगेको छु । संघीयता सफल बनाउन अहम् भुमिका खेल्छु ।’