‘……घर बनाएर पार्टी छाडियो ’–धवल, ‘अब फर्किनुहोस्’–प्रचण्ड


नेपालगञ्ज १९ कात्र्तिक – अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा नेकपा बाँकेले आज मंगलवार चियापान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा पूर्व सभामुख एवं नेकपाको प्रदेश नंं. ५ की अध्यक्ष ओनसरी घर्ती सहित नेता तथा कार्यकर्ताको सहभागिता थियो । कार्यक्रम नेकपाको भए पनि बिभिन्न राजनीतिक दल, धर्म, सम्प्रदायको अगुवाहरुको उपस्थिती थियो । बिगतका वर्षमा पनि चियापानमा हरेक दलका नेता बोलाइन्थ्यो । सोही क्रममा राप्रपाका महामन्त्री समेत रहेका नेपालगञ्जका मेयर धवल शमसेर राणा, नेपाली काँग्रेसकी सभापति किरण कोइराला लगायत सहभागि भए ।

अन्य अतिथी भन्दा मेयर धवल शमसेर राणा उक्त चियापान कार्यक्रमका लागि बिशेष बन्न पुगे । कारण थियो उनी पूर्व एमाले हुनु । कार्यक्रम धवलमय बन्यो । प्रमुख अतिथी प्रचण्डले बोल्दा समेत पटक -पटक धवलकै नाम लिए । कार्यकर्ताले धवलको नाम लिदा होस् चाहे धवलले भाषण गर्दा वाहीवाही सहित ताली पिटे । आखिर किन ? कार्यक्रम धवलमय कसरी भयो ? त्यहाँ भएका बिस्तृत कुरा यहाँ उल्लेख गर्दैछौ ।

चियापानलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

अतिथीको आसनग्रहण लगभग सकिएपछि मेयर मन्चमा आईपुगे । कार्यक्रम सन्चालक एवं नेकपा बाँकेका सचिव अशोक कोइरालाले मेयरलाई सोफामा बस्ने बित्तिकै आसनग्रहण गराए । आसनग्रहणका क्रममा कोइरालाले मेयर र नेकपाबीच रहेको पुरानो सम्बन्ध कोट्याए । मन्दमुस्कान सहित कोइरालाले भने,–‘उहाँ नेपालगञ्जको मेयर । राप्रपाको महामन्त्री । पूर्व एमालेको नेता समेत रहिसक्नुभएको ।’ कोइरालाले यति भन्दै गर्दा मेयर राणा मुसुमुसु हाँसिरहेका थिए । कार्यकर्ताले ताली बजाउँदै हो मा हो थप्दै थिए । अझ कति कार्यकर्ताले ठुलै स्वरमा अब फेरी फर्काउने भन्दै कराइरहेका थिए ।

अब पालो आयो मेयर बोल्ने । कोइरालाको कुराबाटै उनले आफ्नो मन्तव्य शुरु गरे । ‘म एमालेमा थिए भन्ने सबैलाई थाहा छ । अझ अर्को कुरा यो भवन (नेकपाको भवन जहाँ कार्यक्रम भइरहेको थियो ) पनि मेरै नेतृत्वमा बनेको भन्ने धेरैलाई थाहा नहोला । निकै दुःख गरेर एक रुपैया भ्रष्टाचार नगरी कार्यकर्ताले दुःख गरेर यो घर बनाएका हुन ।’– धवलले भने । उनले आफु निकै समयपछि आफ्नै नेतृत्वमा बनेको घरमा आएको बताउँदै भने,–‘घर बनाइयो । बनाएपछि बस्ने बेला छाडियो …..।’ यसो भन्दै गर्दा कार्यकर्ताहरुले अब फर्किने हो भन्दै हुटिङ्ग गरे ।

मेयर राणाले छाडेर गए पनि आफुले बनाएको घरको अलिलि माया लाग्ने बताउँदै भने,–‘श्रीमान श्रीमतीबीच त सम्बन्ध बिच्छेद हुन्छ । राजनीतिमा नहुने कुरै भएन । यसलाई मैले स्वभाविक लिएको छु । यस्ता पुराना तिता,मिठा हाँसिमजाक चलिरहन्छ ।’ यति भन्दै मेयर राणाले अरु प्रसंगका कुरा गरे । उनले बुटवललाई राजधानी स्वीकार नगर्ने पुरानै कुरा दोहोर्याउँदा फेरी नेकपाका कार्यकर्ताले ताली पिटेर स्वागत गरे । नेपालगञ्जको विकासमा ध्यान दिन अध्यक्ष प्रचण्डलाई ध्यानार्कषण गराउँदै धवलले आफ्नो कुराको बिट मारे ।

बोल्ने पालो आयो कार्यक्रमका प्रमुख अतिथी प्रचण्डको । उनले समेत आफ्नो मन्तव्यमा धवलको नाम छुटाएनन् । प्रचण्डले भने,–‘उहाँ (धवल) तत्कालिन एमालेबाट मेयर भएको थाहा थियो । तर घर नै बनाएको भन्ने बल्ल थाहा भयो ।’ प्रचण्डले त सार्वजनिकरुपमा मेयर राणालाई मूलघरमा फर्किन सार्वजनिक आह्वान नै गरे । उनले पहिलो वार्ता नेपालगञ्ज हुने बेला मेयर राणाले व्यवस्थापन सहयोग गरेको समेत सम्झिए । नेकपाका नेता र मेयर राणाको ठट्टालेले नेकपाको चियापानलाई हर्षोल्लास बनाउने काम गरेको थियो ।

प्रकाशित मितिः     १९ कार्तिक २०७६, मंगलवार १६:१५  |