क्यान महासंघमा अध्यक्षका प्रत्यासी नवराज कुँवर प्यानलको प्रतिबद्धता पत्र


 

  • आदरणीय अग्रज तथा क्यान महासंघका सदस्यज्यूहरु

मुलुकभरका सूचना प्रविधि व्यवसायी एवं उद्यमी तथा सूचना प्रविधि क्षेत्रमा लागेका व्यक्तिहरुको छाता संगठनको रुपमा रहेको कम्प्युटर एशोसिएशन नेपाल महासंघको महत्व तथा भूमिकाको बारेमा यहाँहरु विदित नै हुनुहुन्छ । सातै प्रदेशमा विस्तार भएको महासंघले हालसम्म ५७ जिल्लामा उपस्थिति जनाइसकेको छ भने करीब ५ हजार सदस्यहरुको साथ पाएको छ । मुलुकले संघीय संरचना अनुसरण गरे अनुरुप क्यान महासंघले पनि आफूलाई त्यही स्वरुपमा ढाल्दै लगेको छ । सरकारले तयार पार्ने सूचना प्रविधिसम्बन्धी ऐन, नियम, नीति, कार्यविधि तथा कार्यक्रममा सरकारलाई परामर्श दिने तथा सहकार्य गर्ने, मुलुकमा यस क्षेत्रका लागि व्यावसायिक वातावरण निर्माणका लागि प्रयासरत रहने, व्यवसायीको हकहितका लागि निरन्तर काम गर्ने तथा अन्र्तराष्ट्रिय क्षेत्रमा सहकार्य गर्ने जस्ता कार्यमार्फत क्यान महासंघले आफूलाई यस क्षेत्रको सशक्त संस्थाको रुपमा उभ्याउन सफल भएको छ ।

यसैबीच २०७६ मंसीर ७ गते संस्थाको १३ औं कार्यसमितिको निर्वाचन हुँदैछ । सो अवसरमा क्यान महासंघलाई तपाईंहरुको साथ र सहयोगमा अग्रजहरुले देखाएको बाटोमा अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दै हामीले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छौं । कुनै पनि जिवन्त संस्था सदैव गतिशील, सुधारोन्मुख र समावेशी प्रकृतिको हुन्छ । हाम्रो उम्मेदवारी त्यसैका लागि रहेको यहाँहरुमा निवेदन गर्न चाहन्छौं । अढाइ दशकदेखि क्यानमा आवद्ध भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको अनुभव र विज्ञता हासिल गरेका साथीहरुको साथले संस्थाको थप विकास गरी यसलाई अझ नयाँ उचाइमा लैजाने हाम्रो योजना छ ।

हाम्रा प्रतिवद्धताहरुः
१. क्यान महासंघका सदस्यहरुको हक हितका लागि सरकारसँग सहकार्य तथा समन्वय गर्न तीन विधि अपनाइनेछ – सूचना प्रविधि क्षेत्रको विकासका लागि हातेमालो गर्ने, राष्ट्रिय एजेण्डामा सहकार्य तथा सम्झौता गर्ने र व्यवसायिक तथा राष्ट्रिय हितका विषयमा खबरदारी गर्ने ।
२. सूचना प्रविधिसम्बन्धी सामान एवं सेवा आयात र निर्यातमा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटी सञ्चालनमा रहेको अव्यावहारिक कर नीतिलाई सरकारसँग छलफल गरी समाधान गर्ने पहल गरिने छ ।
३. केन्द्र र सातै प्रदेशमा क्यान महासंघको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने कार्य अगाडि बढाइनेछ । प्रादेशिक सचिवालय स्थापनाको कार्यलाई प्राथमिकता दिइनेछ । क्यान महासंघ प्रदेश र जिल्ला शाखाहरुको क्षमता अभिबृद्धि गरी आत्मनिर्भर बनाइनेछ । केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको सम्पूर्ण कार्यलाई पूर्णरुपमा पेपरलेस बनाइनेछ ।
४. सफ्टवेयर उद्योगको क्षमता अभिवृद्धि गर्दै सरकारी कामकाजमा स्वदेशी सफ्टवेयरको प्रयोगको लागि सरकारसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ । त्यस्तै नेपाली सफ्टवेयर कम्पनी तथा उद्यमी व्यवसायीलाई सूचना प्रविधिसम्बन्धी अन्तरराष्ट्रिय मेला तथा प्रदर्शनीमा सहभागिता तथा अवलोकनका लागि प्रोत्साहन र सहयोग गरिनेछ । सफ्टवेयर डेभलपमेण्ट, बिजनेश प्रोसेश आउटसोर्सिङ (बिपिओ), नलेज प्रोसेश आउटसोर्सिङ (केपीओ), सूचना, सञ्चार तथा शिक्षा प्रविधि (आईस टेक, सफ्टटेक) को विकास तथा विस्तारका लागि आवश्यक रणनीति तय गरिनेछ ।
५. नेपाली स्टार्टअप कम्पनीलाई लगानीको वातावरण, दक्ष विज्ञको सहयोग, कर छुट लगायतका कार्यहरुमा सहजीकरण गर्दै विश्व बजारमा स्थापित गराउन अन्तरराष्ट्रिय लगानीकर्ताहरुसँग सहकार्य गरिनेछ । त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स लगायतका बिषयहरुको विकास र प्रवद्र्धन गर्दै उचित वातावरण र नीति निर्माणमा पहल गरिने छ ।
६. नेपालको सबैभन्दा ठूलो सूचना प्रविधि मेला क्यान इन्फोटेकलाई अझ परिष्कृत र विकसित बनाई पछिल्ला प्रविधि तथा अपडेट समावेश गरिनेछ । र सातै प्रदेशमा आयोजना गरिने क्यान इन्फोटेकको स्तरवृद्धि गर्दै बृहत बनाइनेछ ।
७. नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै यसलाई सफल बनाउन सूचना प्रविधि (आईटी) र पर्यटन इन्डष्ट्रिड (टीआई) लाई सम्बोधन गर्ने गरी गण्डकी प्रदेशको राजधानी पोखरामा अन्र्तराष्ट्रिय सम्मेलनको आयोजना गरिनेछ ।
८. सूचना प्रविधिको हस्तान्तरण गरी मुलुकको विकासमा टेवा पु¥याउनका लागि नेपालमा भएका कुटनीतिक नियोगसँग छलफल गरी कार्य अगाडि बढाउन पहल गरिनेछ । त्यस्तै गैरआवासीय नेपालीमार्फत सूचना प्रविधिका कम्पनीमा विदेशी लगानी भित्राउन आवश्यक कदम चालि विदेशिएको युवा जनशक्तिलाई सूचना प्रविधिको क्षेत्रमा स्वदेशमै रोजगारी सृजना हुने वातावरण निर्माणको प्रयास गरिने छ ।
९. हाल ५७ जिल्लामा रहेको क्यान महासंघ लाई ७७ वटै जिल्ला शाखाहरुमा र संयुक्त राज्य अमेरिका र जापानमा स्थापना गरिएको क्यान फेडेरेशनको अन्तरराष्ट्रिय च्याप्टरको विस्तार गरी कम्तीमा सात ओटा मुलुकमा पु¥याइ त्यसलाई क्रियाशिल गराईनेछ ।
१०. विश्वभरका सूचना प्रविधि संस्थाहरुको संस्था वल्र्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस अलाएन्स (विट्सा), एशियाली छाता संगठन एशियन–ओसेनियन कम्प्युटिङ इण्डष्ट्री अर्गनाइजेशन (एसोसियो), भारतीय सूचना प्रविधि तथा बिपिओ उद्योगको राष्ट्रिय संस्था नेशनल एशोसिएशन अफ सफ्टवेयर एण्ड सर्भिसेज कम्पनिज (नासकम) तथा जापानको राष्ट्रिय सूचना प्रविधि संगठन जापान इन्फरमेशन इण्डष्ट्री एशोसिएशन (जिसा)जस्ता संस्थाहरुसँग मिलेर नेपालमा यस क्षेत्रको अझ तिब्र विकासका लागि कार्य गरिनेछ ।
११. बस्तुगत सदस्य संस्था (सेक्टर) तथा सूचना प्रविधिसँग सम्बन्धित अन्य संस्था एवं कम्पनीसँग रणनीतिक सहकार्य गरी अनुसन्धानमूलक तथा सूचना प्रविधिको प्रवद्र्धनात्मक कार्यहरु गरिनेछ ।
१२. क्यान महासंघका सबै प्रकारका सदस्यहरुलाई समान अवसर, उचित भूमिका तथा संस्थागत अधिकार सुनिश्चितताका लागि उचित रणनीति अवलम्बन गरिनेछ ।
१३. आईसीटी दिवसलाई प्रदेश र स्थानीय तहमा समेत भव्यरुपमा मनाउन सम्बन्धित निकायसँग आवश्यक पहल गरिनेछ ।
१४. सूचना प्रविधिलाई जनस्तरसम्म लैजान विभिन्न कार्यक्रम गरिनेछ । तीनै तहका सरकारसँगको समन्वयमा प्रदेश र जिल्ला शाखाहरु मार्फत क्यानलाई ग्रामिण तहसम्म लैजाने योजना कार्यान्वयन गरिनेछ ।
१५. सूचना प्रविधि क्षेत्रमा महिलाको आकर्षण बढाउन तथा सहभागिता वृद्धि गर्नका लागि सरकारलाई नीति निर्माणका लागि घच्घच्याउने काम गरिने छ । साथै, उनीहरुको क्षमता विकास गर्न, लगानी जुुटाउन तथा व्यवसाय प्रवद्र्धनका क्षेत्रमा सघाउनका लागि आवश्यक सहयोग गरिने छ । आवश्यक परेमा क्यानमै त्यसका लागि एक विशेष युनिटको स्थापना गरिनेछ ।

यिनै उद्देश्यहरुका साथ हाम्रो समूहबाट १३ औं कार्यसमितिमा उम्मेदवारी घोषणा गरेका छौं

अध्यक्ष -नवराज कुँवर
१. संस्थागत साधारण समूहबाट
राजन कर्माचार्य (IMTC International), अमित सराफ (Nagmani International ), राजेश अग्रवाल (Maruti Computer Trade Concern ), शंकर श्रेष्ठ (PC Info ) शर्मिला भुजेल, (Famoas.com Pvt Ltd) निरञ्जन पटेल, (ICT Frame ) सुरेन्द्र न्यौपाने (Enlighten Education International )
२ . संस्थागत आजिवन समूहबाट
डा. पवन कुमार शर्मा, (Netco Technology), नवीन जोशी९(Astral Computer Nepal ) राजेन्द्र अर्याल(Cyber International )
३. व्यक्तिगत आजिवन समूहबाट
प्रा. डा. शुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारी
४. व्यक्तिगत साधारण समूहबाट
खुसल रेग्मी, रत्नतारा बैद्य, सुवास खड्का, धनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेशराज कार्की
५. वस्तुगत सदस्य समूहबाट
नारायण बहादुर थापा, (GS, CIT Nepal ) भोजराज भट्ट, (President, ISPAN ) चिरञ्जिवि अधिकारी, (ICT Journalist Development Forum), प्रताप सापकोटा (President, ITS Nepal)

६. लेखा समिति
लक्ष्मण यादव (संस्थागत सदस्य समूह), हृदयमान श्रेष्ठ (व्यक्तिगत सदस्य ), भिमसेन गिरी
प्रदेश नं २ः दिपेन्द्रराज सिंह र भुपालदास श्रेष्ठ
प्रदेश नं ३ः शेखरनाथ दुलाल र भानु शर्मा
गण्डकी प्रदेशः अशोकबाबु राना
प्रदेश नं ५ ः रेशम गिरी र ध्रुवराज शर्मा (सुदीप)
कर्णाली प्रदेश ः दलबहादुर खड्का र भीम मल्ल
सुदूरपश्चिम प्रदेशः हर्क सेठ्ठी र खेमराज ढुंगाना

धन्यवाद ।

प्रकाशित मितिः     २९ कार्तिक २०७६, शुक्रबार ०७:५०  |