भ्रमण वर्षलाई सफल बनाउन प्रदेश ५ का हरेक स्थानीय तहमा समिति गठन गरिदै


 

नेपालगञ्ज २९ कात्र्तिक – भ्रमण वर्ष २०२० को पूर्वतयारी स्वरुप प्रदेश ५ स्थानीय तहसम्म पर्यटन प्रर्बधन समिति गठन गर्ने निर्णय भएको छ । बुटवलमा बिहिवार सम्पन्न प्रदेशस्तरिय पर्यटन प्रर्बधन समितिको दोस्रो बैठकले नगरपालिका र गाउँपालिकामा उक्त समिति गठन गर्ने निर्णय गरेको हो । अहिले प्रदेश र जिल्लास्तरमा समिति गठन भएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता र उद्योग, पर्यटन मन्त्री लिला गिरीको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले भ्रमण वर्षलाई सफल बनाउन तिब्र तयारी गर्ने निर्णय गरेको पर्यटन प्रर्बधन समितिका सदस्य कृष्णलाल चौधरीले बताए । उनका अनुसार, नगरपालिका र गाउँपालिकाका सम्बन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको हो । उक्त समितिमा वडा अध्यक्ष सदस्य र प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव रहनेछ । सरोकारवाला निकायका अगुवा सदस्य राख्ने निर्णय भएको छ ।

बैठकले भिजिट ट्वान्टी ट्वान्टीको उद्घाटन प्रदेशमा भव्यरुपमा गर्ने योजना बनाउने निर्णय भएको छ । त्यस्तै आगामी बैठक बर्दियाको ठाकुरद्धारामा हुने छ । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ पर्यटनको हब भएको बताउँदै यसको प्रर्बधन गर्न सबै जुट्नुपर्ने बताए । उनले लुम्बिनीदेखि बाँके र बर्दियाको पर्यापर्यटनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः     २९ कार्तिक २०७६, शुक्रबार ०८:५६  |