नेपालगञ्ज-नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणले निजीक्षेत्रको बलियो साथ पाउने भएको छ । उक्त म्याराभनका लागि केएल दुगड समूहको उत्पादन धारा तेल जोडिएपछि म्याराथन अगाडी उसको नाम जोडियो । दुगड समूहसंगै सहप्रयोजकमा राष्ट्रिय वाणिज्य बैंक र आशीर्वाद पेन्ट्सले पनि म्याराथनलाई साथ दिएका छन् ।
यसपाली मंसिर ७ गते शनिबार नेपालगञ्ज म्याराथन आयोजना हुँदै छ । क्रिएटिभ ह्याण्ड्सले सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ । यसअघि ४ वटा संस्करणको सफलतापूर्वक आयोजनाबाट आफुहरु उत्साहित रहेको क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरी बताउँछन् । यो वर्ष हाम्रो अभियानलाई साथ दिन धारा शुद्ध तोरीको तेलसँग मुख्य प्रायोजकका रुपमा सहकार्य भइसकेको छ । धारा नेपालगञ्ज म्याराथनमा अरु दुई संस्था सह प्रायोजकका रुपमा जोडिएको महसुस भइरहेको छ ।
धारा नेपालगन्ज म्याराथनमा इ एसोसिएसन विथ आर्शिवाद पेन्ट्स र पावर्ड बाई राष्ट्रिय बाणिज्य बैंक आबद्ध भएका हुन् । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने उद्देश्य रहेको छ । यसै अनुसार विगत चार वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन हुँदै आएको छ । नेपालगञ्ज म्याराथनले कोहलपुर र नेपालगञ्जलाई जोड्ने एउटा शसक्त माध्यम बनेको छ भन्ने छ । नेपालगञ्जलाई महानगर बनाउने अवधारणाको चर्चा हुँदा सरकारले नेपालगञ्ज र कोहलपुर शहर जोड्ने नीति अघि सारेको छ ।