एनआइसी बैंक र सुर्खेत उद्योग वाणिज्यबीच भए यस्ता सम्झौता


सुर्खेत ५ मंसिर – एनआईसी एशिया बैंकसंग सुर्खेत उद्योग वाणिज्य संघबीच बिहिवार छलफल भएको छ । सेवा शुल्क लगायतका बिषयमा उक्त बैंकसंग संघले बिमत्ती जनाएको थियो । सोही बिषयमा संघका अध्यक्षका धनबहादुर रावतकोे अध्यक्षता एवं एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकारी जयन्द्र रावललगायत संघका पदाधिकारी तथा अन्य व्यापारी प्रतिनिधिहरुबीच बसेको संयुक्त बैठकमा, एनआइसी एशिया बैंक सुर्खेत शाखाको सेवा प्रवाह तथा लिंदै आएका विविध शुल्कलगायतका विषयमा व्यापक छलफल गर्दै बिभिन्न निर्णय भएका छन् ।

यस्ता छन् निर्णय

१) एनआइसी एशिया बैंकले प्रवाह गर्ने ऋण कर्जा नविकरण गर्दा लिइने सेवा शुल्क वापतको २ दशमलव ७५ प्रतिशत र ब्याजको दर ९ दशमलव ५० प्रतिशतबाट कम कायम गर्न बैंकले पहल गर्ने ।

२) सेवाग्राहीले बैंक कर्जा चुक्ता गरेको खण्डमा बाँकी अवधिको सेवा शुल्क बैंकले फिर्ता गर्ने ।

३) सेवाग्राहीले किस्तावन्दीमा सेवाशुल्क तिर्न मिल्ने गरी आवश्यक व्यवस्था मिलाउने ।

४) सेवाग्राहीले हाल कायम रहेको ९ दशमलव ५० प्रतिशत सेवा शुल्क तिरेको खण्डमा ६ महिनादेखि १ वर्षसम्म ब्याज वृद्धि नगर्ने ।

५) यसअघि बैंकले विभिन्न शीर्षकमा अनधिकृत रुपमा काटेको व्याज तत्काल फिर्ता गर्ने ।

६) एल. सी भुक्तानी गर्दा बैंकले काटेको अन्य शुल्क फिर्ता गर्ने ।

७) बैंकबाट कर्जा लिएका सम्पूर्ण व्यवसायीहरुको कर्जा नविकरण गरी कर्जा सहज बनाउने ।

८) ऋण प्रवाह गर्दा जीवन विमा लगायतका अन्य शुल्क लाग्ने नीति तत्काल हटाउने ।

९) सेवाग्राहीले बैंकको सम्पूर्ण साँवा ब्याज चुक्ता गरी बैंक स्थानान्तरण गर्न चाहेको खण्डमा अतिरिक्त शुल्क (प्रिपेमेन्ट चार्ज) नलिने ।

१०) कर्जा प्रवाहमा हाल लिंइँदै आएको २ दशमलव ७५ प्रतिशत सेवा शुल्कबाट घटाइ सक्दो कम गर्नका लागि बैंकले आप्mनो नीति परिवर्तनका लागि आवश्यक पहल गर्ने ।

११) कर्जा प्रवाह एवं नविकरण प्रक्रियालाई सक्दो सहज बनाउने ।

१२) बैंक ग्यारेण्टीमा कारोवार गर्दा सेवा शुल्क पुरानै दर शून्य दशमलव ५ प्रतिशत कायम गर्ने तथा मार्जिन राख्दा बढिमा ५ प्रतिशत मात्र राख्न बैंकले पहल गर्ने ।

प्रकाशित मितिः     ५ मंसिर २०७६, बिहीबार १३:५८  |