सडक अतिक्रमणमुक्त बनाउन आफै जुटे वडा अध्यक्ष, सम्झाउदा नमाने कारवाही


तस्वीर – भोजराज शर्मा नादिर

नेपालगञ्ज ६ मंसिर – सडक अतिक्रमण गरी व्यापार, व्यवसाय गर्नेलाई नेपालगञ्ज उपमहानगरपालिकाले कडा कारवाही गर्न शुरु गरेको छ । अतिक्रमणका कारण सवारी दुर्घटना बढेका छन् भने हिडडुल गर्न मुस्किल भएको छ । शहर नै कुरुप बनाउने यस्तो कार्यका बिरुद्धमा सामान्य कारवाही गर्दा व्यवसायीहरुले नटेरेपछि धमाधम कडा कारवाही शुरु गरिएको हो ।

सडक अतिक्रमण गरी राखिएका सामान हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले व्यवसायीलाई समय दिएको प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले बताए । व्यवसायीले मौका पाउन भनेर समय दिएको तर उक्त समयमा पनि सामान नहटाए नियन्त्रणमा लिने उपमहानगरको स्पष्ट नीति छ । अब पहिले जस्तो जफत गरिएको सामान जरिवाना तिरेपछि फिर्ता नहुने प्याकुरेले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल आफै सडक अतिक्रमण हटाउन जुटेका छन् । सडक दुर्घटना बढाउने र शहरलाई कुरुप बनाउने यस्ता काम नगर्न व्यवसायीलाई आग्रह गर्दै हिडेका अध्यक्ष रिजालले अब भने कडाई नगरी नहुने अवस्था आएको उल्लेख गरेका छन् ।

प्रकाशित मितिः     ६ मंसिर २०७६, शुक्रबार १०:३४  |