नेपालमा उत्पादित ३४ थरि जडिबुटी भारत निकासीको बाटो खुल्यो


नेपालगञ्ज ६ मंसिर – नेपालमा उत्पादित जडिबुटी सहजरुपमा निर्यात गर्ने बाटो खुलेको छ । नेपालमा उत्पादित ३४ थरिका जडिबुटी लिन भारत सहमत भएपछि निर्यात गर्न सहज भएको नेपाल जडिबुटी ब्यवसायी संघका सल्लाहकार टंकप्रसाद शर्माले बताए । उनले एक हप्ताबाट नियमित रुपमा नेपालको जडिबुटी भारत निकासी हुने जानकारी दिए । łझण्डै एक बर्षदेखि रोकिएको जडिबुटी निकासीका लागि भारतले बाटो खुला गरेको छ,’ उनले भने ।
भारतले १ अक्टोवर, २०१९ मा नै ३४ थरिका जडिबुटी लिन सहमती जनाए पनि आफ्नो देशको सम्बन्धित प्लान्ट क्वारेन्टाइनमा नपठाएका कारण अहिलेसम्म नेपालमा उत्पादित जडिबुटी भारत निर्यात हुन नसकेको शर्माले बताए । उनले पिआरए नभएका कारण निर्यात हुन नसकेका जडिबुटी अव सहज रुपमा भारत निकासी हुने बताए । नेपालबाट निकासी हुने जडिबुटीको नाम र पिआरए भारतका क्वारेन्टाइन कार्यालयको अनलाइनमा राख्ने काम भइसकेको छ । łअव एक हप्तादेखि ३४ थरिका जडिबुटी सहज रुपमा भारत पठाउन सकिनेछ,’ शर्माले भने ।
सल्लाहकार शर्माका अनुसार, भारतले रिठा, कुट्की, दालचिनी, पखानवेद, चुत्राको बोक्रा, चुत्राको काठ, अमला, सिकाकाई, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अस्वगन्धा, जटामासी, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइलको तेल समेत निकासी गर्न बन्द गरेको थियो । łनेपालमा खपत नहुने र प्रशोधन गरेर भारत निकासी गर्न नमिल्ने जडिबुटी भारतले लिने भएपछि नेपाली ब्यापारी र कृषकलाई फाइदा पुग्ने भएको छ,’ उनले भने ।
निकासी हुने जडिबुटीले ८० प्रतिशत हिस्सा ओगट्ने
भारतले नेपालमा उत्पादित ३४ थरिका जडिबुटी निर्यात गर्न सहमत भएपछि पश्चिम नेपालका जडिबुटी उत्पादक कृषक र ब्यापारी खुसी भएका छन् । यी ३४ थरि जडिबुटीले भारतमा निर्यात हुने कुल जडिबुटीको ८० प्रतिशत हिस्सा ओगट्ने नेपाल जडिबुटी ब्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए । łभारतमा निकासी हुने जडिबुटीको मुख्य हिस्सा अनुमति पाएको यहि जडिबुटीले लिँदै आएको छ,’ उनले भने ।
नेपालबाट ८० थरिका जडिबुटी भारत निकासी हुँदै आएको छ । अन्सारीका अनुसार, मुख्य–मुख्य जडिबुटी भारत जाने अनुमति पाएपछि उत्पादक र ब्यापारीलाई राहत मिलेको बताए । łभारतका कारण साह्रै दुख थियो । अव त्यो समस्या नरहने भयो,’ अध्यक्ष अन्सारीले भने ।
उत्पादन र ब्यवसाय फेरि फस्टाउने
भारतले जडिबुटी निर्यातको बाटो खोलेपछि बन्द भएको ब्यवसाय पुनः सुरु हुने भएको छ । सूचीकृत नभएको बहाना बनाउँदै भारतले निकासी बन्द गरेपछि यहाँको जडिबुटी ब्यवसाय र उत्पादन ठप्प भएको थियो ।
भारत निर्यात गर्न संकलन गरेर ल्याइएको जडिबुटी नेपालगन्जका ब्यापारीको गोदाममा थन्किएको थियो । łनेपालगन्जमा थन्किएको जडिबुटी अव सहज रुपमा भारत पठाउन सकिने छ । अव उत्पादन र व्यवसाय तथा खेतिपाती फस्टाउने छ,’ सल्लाहकार शर्माले भने । भारतले जडिबुटी निर्यातमा रोक लगाएपछि सय बढि ब्यवसायी र किसानको ब्यवसाय धरापमा परेको थियो ।

प्रकाशित मितिः     ६ मंसिर २०७६, शुक्रबार ०९:०९  |