नेपालगञ्ज ६ मंसिर – देशभर झण्डै ६१ प्रतिशत जनसंख्यामा वित्तीय पहुँच विस्तार भएको नेपाल राष्ट्र बैंकको पछिल्लो एक अध्ययनले देखाएको छ । बैंकको अनुसन्धान विभागद्वारा २०७६ असोजमा सार्वजनिक गरिएको ‘नेपालमा वित्तीय पहुँचको स्थिति’ विषयक अध्ययन अनुसार, निक्षेप खाताको संख्या १ करोड ८० लाख पुगेको छ । यो संख्या नेपालको कुल जनसंख्याको ६०.९ प्रतिशत हो ।
२ ०७६ जेठ मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा स्वदेशी र विदेशी गरी कुल २ करोड ७८ लाख ६७ हजार निक्षेप खाता रहेकोमा तीनपुस्ते विवरणका आधारमा एक व्यक्तिको एकभन्दा बढी निक्षेप खाता र विदेशी नागरिकको निक्षेप खाता हटाउँदा १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता कायम हुने अध्ययनको निष्कर्ष छ । २०७६ सालमा नेपालको जनसंख्या २ करोड ९६ लाख पुगेको अनुमानका आधारमा वित्तीय पहुँचको हिस्सा ६०.९ प्रतिशत रहेको यकिन गरिएको हो। लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाबाट वित्तीय सेवा प्राप्त गर्ने जनसंख्यालाई समावेश गर्ने हो भने यो हिस्सा अभैm बढ्नसक्ने अध्ययनको निष्कर्ष छ ।
राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको अध्ययनले देखाएको छ । अध्ययन अनुसार, २०७६ साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ८०५ पुगेको छ । २०७३ असारमा यो संख्या ४ हजार २७४ थियो । सबै स्थानीय तहमा वाणिज्य बैंकको कम्तीमा एक शाखा पु¥याउने नीति अनुरूप २०७६ असोजसम्ममा ७३९ स्थानीय तहमा बैंकको शाखा विस्तार भइसकेको छ । २०७४ असार मसान्तमा २९६ स्थानीय तहमा मात्रै बैंक शाखा पुगेको थियो। अब १४ स्थानीय तहमा मात्रै बैंकको शाखा विस्तार हुन बाँकी छ । अध्ययन अनुसार, प्रदेश नं. ५ का सबै स्थानीय तहमा बैंक शाखा पुगिसकेको छ भने प्रदेश नं. १ र गण्डकी प्रदेशमा एक–एक, प्रदेश नं. २, प्रदेश नं. ३ र कर्णाली प्रदेशका दुई–दुई तथा सुदुरपश्चिम प्रदेशको छ वटा स्थानीय तहमा बैंक शाखा पुगेको छैन ।
बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै एक शाखाबाट सेवा प्राप्त गर्नसक्ने औसत जनसंख्याको आकार समेत क्रमशः घट्दै गएको छ । २०७३ असारमा एउटा शाखाबाट बैंकिङ सेवा प्राप्त गर्ने औसत जनसंख्या ६ हजार ५६२ रहेकोमा २०७६ असारमा यो अनुपात ३ हजार ३६३ मा सीमित भएको छ । प्रदेशगत रूपमा प्रति बैंक शाखा – जनसंख्या अनुपात सबैभन्दा कम गण्डकी प्रदेशमा २ हजार २५७ र सबैभन्दा बढी कर्णाली प्रदेशमा ४ हजार ९५८ रहेको अध्ययनले देखाएको छ । पछिल्लो समयमा बैंकिङ सेवामा विद्युतीय प्रविधिको प्रयोगमा समेत उल्लेख्य विस्तार भएको अध्ययनबाट देखिएको छ ।
२०७३ सालमा १ हजार ९०८ एटीएम सेन्टर रहेकोमा २०७६ मा यो संख्या ३ हजार ३१६ पुगेको छ । सोही अवधिमा डेविट कार्डको संख्या ४६ लाख ५७ हजार १२५ बाट विस्तार भई ६७ लाख ८ हजार ५२१ पुगेको छ । २०७३ सालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ५५ हजार थियो। २०७६ मा आइपुग्दा यो संख्यामा पाँच गुणाले उत्साहजनक रूपमा वृद्धि भई ९ लाख पुगेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । सो अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ५ लाख १५ हजार ४६५ बाट ९ लाख १७ हजार ३४४ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको संख्यामा वृद्धि, शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोगको वृद्धिसँगै वित्तीय पहुँच विस्तारले तीब्रता पाएको अध्ययनको निष्कर्ष छ ।
सूचना प्रविधिमा लगानी बढाउनुस् – गभर्नर डा. नेपाल
गभर्नर डा. चिरंजीबि नेपालले सूचना प्रविधिमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्नुभएको छ । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) द्वारा २०७६ असोज २ गते काठमाडौंमा आयोजित ‘वित्तीय साइबर अपराध नियन्त्रण’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। गभर्नर डा. नेपालले भन्नुभयो, “वित्तीय क्षेत्रमा एकपछि अर्को साइबर अपराधका घटना बढिरहेका छन्। यसलाई नियन्त्रण गर्न सूचना प्रविधिलाई मजबुत बनाउनुपर्छ । त्यसको लागि सूचना प्रविधिमा लगानी बढाउनुपर्ने आवश्यकता छ ।”
सबल सूचना प्रविधि संयन्त्रको अभावमा बैंक तथा वित्तीय संस्थाको सम्पत्ति जोखिममा पर्नसक्नेतर्पm उहाँले सचेत गराउनुभयो। “वर्षौं लगाएर कमाएको आम्दानी एक क्लिकका भरमा जोखिममा पर्नसक्छ । त्यसैले सूचना प्रविधिमा लगानी बढाएर सिस्टमलाई सुरक्षित राख्नुस्।” गभर्नर डा. नेपालले भन्नुभयो। सो अवसरमा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीब सुब्बाले नेपालका बैंक तथा वित्तीय संस्थाहरू साइबर सुरक्षाको दृष्टिले जोखिममा रहेको उल्लेख गर्दै सम्भावित दुर्घटना रोक्नको लागि सूचना प्रविधि प्रणालीलाई बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । कार्यक्रममा वित्तीय क्षेत्रको सूचना प्रविधिसँग सम्बद्ध भारतीय तथा स्वदेशी विशेषज्ञ, नेपालका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता थियो। एक दिवसीय उक्त कार्यक्रममा सहभागीहरूबीच वित्तीय क्षेत्रमा अवलम्बन गरिएको सूचना तथा सञ्चार पद्धति, सम्भावित साइबर जोखिम र नियन्त्रणका उपायका सम्बन्धमा छलफल भएको थियो।
वित्तीय पहुँचमा उल्लेख्य विस्तार – गभर्नर डा. नेपाल
गभर्नर डा. चिरंजीबि नेपालले पछिल्लो समयमा वित्तीय पहुँच उल्लेख्य रूपमा विस्तार भएको बताउनुभएको छ । मिडिया इन्टरनेशनको सातौं वार्षिकोत्सवका अवसरमा २०७६ असोज १६ गते काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले पछिल्लो अध्ययन अनुसार करिब ६१ प्रतिशत जनसंख्यामा वित्तीय पहुँच विस्तार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वित्तीय साक्षरता अभिवृद्धिका कारण वित्तीय पहुँचको विस्तार सम्भव भएको हो ।
यसबाट उद्यमशीलता विकासमा थप टेवा पुग्नेछ ।” ७५३ स्थानीय तहमध्ये ७३९ तहमा वाणिज्य बैंकको शाखा विस्तार भइसकेको जानकारी समेत गभर्नर डा. नेपालले दिनुभयो। सरोकारवाला सबै पक्षको साझा पहलमा वित्तीय साक्षरता र वित्तीय पहुँच विस्तारलाई थप प्रभावकारी तुल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। वित्तीय साक्षरता अभिवृद्धिमा मिडिया इन्टरनेशनले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्न उक्त संस्थालाई गभर्नर नेपालले शुभकामना समेत दिनुभएको थियो।
नेपाल राष्ट्र बैंक समाचारबाट