काठमाडौं । भ्रमण बर्ष २०२० को तयारी अन्तिम चरणमा पुगेको छ । २० लाख पर्यटक ल्याउने तयारीका साथ घोषणा गरेको भ्रमण बर्ष २०२० को तयारी अन्तिम चरणमा पुगेको मुल आयोजक समितिका संयोजक एवंम पर्यटन मन्त्री योगेश भट्टराईले बताए ।
मन्त्रालयमा आयोजित मुल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले जनवरी १ मा दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोद्धन गर्ने बताए । सोही दिन सातै प्रदेशमा र जिल्लाहरुमा पनि भव्य रुपमा भ्रमण बर्षको उद्धघाटन हुने उनले जानकारी दिए । त्यस्तै विदेश स्थित राजदुतावासमा जनवरी ७ मा एकै साथ भ्रमण बर्षको उद्धघाटन गर्ने कार्यक्रम छ ।
रोजगारीमा जाने वा अध्ययनमा जानेहरुलाई वैदेशिक रोजगार व्यवसायी संघ र शैक्षिक परामर्श सघंले भ्रमण वर्षको लोगो भएको टिर्सट र क्याप अनिवार्य रुपमा विमानस्थलमा दिनुपर्ने छ । त्यस्तै विदेश अध्ययन गर्न जाने विद्यार्थीले आफ्नो कलेजका प्रमुख र श्रमिकले आफ्नो हाकीमलाई नेपालको तर्फबाट उपहार लिएर जानु पर्ने छ । उपहारको व्यवस्था दुवै सघंलाई मिलाउन मन्त्री भट्टराईले आग्रह गरेका छन् ।
नेपालमा उत्पादन हुने सामाग्रीहरु प्याकिङ गर्दा अनिवार्य रुपमा भ्रमण बर्ष २०२० को लोगो राख्न उद्योगी व्यवसायीहरुलाई अनुरोध गरेका छन् । साथै आन्तरिक उडान वा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरुमा पनि भ्रमण बर्षको लोगो सहितको प्रचार प्रसारका सामग्री राख्नुपर्ने छ । त्यस्तै जहाज अवतरण गर्नुभन्दा १० मिनेट अगाडी विमानस्थल र समयको जानकारी पछि भ्रमण बर्ष २०२० को सन्देशमुलक अडियो सामाग्री अनिवार्य रुपमा प्रसारण गर्नुपर्ने छ । यसकाे लागि अध्यागमन विभागले समन्वय गरीरहेको उल्लेख छ ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले भ्रमण बर्षमा नेपाल आउने पर्यटकलाई स्वागत गर्न तयार रहेको जानकारी दिए । धार्मिक एवंम प्राकृतिक सुन्दरताले धनि रहेको सुदुरपश्चिम प्रदेशमा पर्यटकलाई नै लक्षित गरी ५ ओटा नयाँ करिडोर निर्माण भइरहेको उनले जानकारी दिए । सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले प्रमुख पर्यटकीय खप्तडसम्म पुग्ने सडक कालोपत्रे गर्न थालिएको बताइन् ।
साथै नयाँ पर्यटकीय स्थलहरुको पहिचान र प्रचार गर्न लागिएको उनको भनाइ छ । प्रदेश नम्बर ३ का पर्यटन मन्त्री अरुण नेपालले भ्रमण बर्षलाई लक्षित गरी धुलिखेल र इन्द्रसरोबरमा स्तम्भ बनाउन लागिएको जानकारी दिए । ३ नम्बर प्रदेशमा रहेका ६६ ओटा निर्वाचन क्षेत्रमा मेला र महोत्सव आयोजना गर्ने उनको भनाइ छ ।
कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्द सिंह बुढाले १ वर्षमा १ लाख पर्यटक भित्र्याउने योजनाका साथ तयारी थालिएको बताए । पर्यटकीय दृष्टिकोणले कर्णाली प्रदेश उर्वर रहेको बताउदै ५ ओटा नयाँ पर्यटन पदमार्ग निर्माण गरिरहेको उनको भनाइ छ । तर, हवाई सेवा नियमित नहुदा समस्या बढेकोले यस तर्फ संघिय सरकारले निर्देशन दिन आवश्यक रहेको उनले बताए । यस्तै नेपाल एयरलाइन्सको जहाज सुर्खेत विमानस्थलमा राखेर उडान गर्न समेत उनले आग्रह गरे ।