उद्योगका ‘गेट’मा सूचना–‘चन्दा मागेर सर्मिन्दा नभइदिनु !’


नेपालगञ्ज १० मंसिर – नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगले चन्दा र दान निषेध गरेका छन् । हरेक उद्योगका गेटमा चन्दा र दान निषेध गरिएको सूचना टाँस गरिएको छ । बिभिन्न समूहबाट चन्दा र दानका नाममा हैरान पारेपछि त्यहाँका उद्योगी, व्यवसायीको संगठन नेपालगञ्ज औद्योगिक क्षेत्र उदोग विकास संघ, बाँकेले निर्णय गरेर चन्दा र दान नदिने निर्णय गरेको हो ।

कुनै पनि व्यक्ती, संस्था वा निकायलाई चन्दा वा कुनै प्रकारको दान नदिने निर्णय भएकाले त्यस्तो चन्दा र आर्थिक सहयोग मागेर आफुलाई ‘सर्मिन्दा’ नभईदिनु हुन अनुरोध सहितको सूचना टाँस गरिएको हो । मध्यपश्चिमको केन्द्रविन्दु नेपालगन्जमा स्थापना गरिएको सबैभन्दा ठूलो औद्योगिक क्षेत्रको रूपमा रहेको नेपालगन्ज औद्योगिक क्षेत्रमा २५ अर्ब भन्दा बढि लगानी गरिएको छ । निजी क्षेत्रको २४ अर्ब ५० करोड र सरकारको ९६ करोड गरी सो औद्योगिक क्षेत्रमा २५ अर्ब ४४ लाख रुपैया लगानी भएको हो ।
मध्यपश्चिम क्षेत्रकै सबैभन्दा ठूला उद्योग सञ्चालन भएको नेपालगन्ज औद्योगिक क्षेत्रमा सञ्चालकहरूले लगानी बढाउँदै गएको गएका छन् । हाल औद्योगिक क्षेत्रमा ३० उद्योग चालू अवस्थामा छन् ।
०३० सालमा स्थापित औद्योगिक क्षेत्रभित्र प्लास्टिक पाइप, विद्युत् केबल, प्लाइउड, तामा, पित्तल, आल्मुनियमका भाँडा, पिउने पानी, खानेपानीका धाराका सामान, आदिका उद्योग छन् । बाँके जिल्लामा कुनै बेला चन्दा आतंकले आक्रान्त पारेको थियो । भूमिगत समूहको त्यस्तो आतंकका कारण व्यवसाय क्षेत्र त्रसित थियो । अहिले त्यस्तो आतंक नभए पनि बिभिन्न समूहले व्यवसायीलाई चन्दा मागेर हैरान पार्ने गरेको एक उद्योग बताउँछन् ।

प्रकाशित मितिः     7:34:49 AM  |