बाँके ९ मंसिर – कर्म राम्रो भए हुन्छ, आखिर नाममा के नै छ र ? धेरैलाई यस्तै लाग्न सक्छ । तर बाँकेको कोहलपुर नगरपालिकाका मेयरका हकमा भने ठिक विपरित भएको छ । कर्म राम्रो हुँदाहुँदै समेत नामका कारण उनलाई अनावश्यक टाउको दुखाइ भएको छ । उनको नाम हो, लुट बहादुर रावत । आफ्नो नामका बारेमा मानिसहरुले अनावश्यक टिकाटिप्पणी गर्न थालेपछि उनले नाम प्लेट नै परिवर्तन गरिदिएका छन्, छोटकरीमा ‘एलबी रावत’!
‘नामलाई लिएर धेरैले अनावश्यक कुरा जोड्न थालेपछि नाम प्लेट फेर्ने निर्णयमा पुगेका हौं ।’ कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले भने,–‘लुटबहादुर रावत नामबाट नाम प्लेट देख्दा पहिलो पटक आउने मान्छे निकै घोरिएर हेर्थे । अहिले त्यस्तो छैन् ।’ लुटवबहादुर रावत बाँके जिल्लाको राजनीतिमा परिचित नाम हो । कोहलपुर गाविस हुँदा रावतले अध्यक्ष जितेका थिए । उनले कोहलपुरको विकासमा राम्रो भूमिका खेलेकाले पछिल्लो चुनावमा समेत जिताएको प्रेस सल्लाहकार रावत बताउँछन् ।

‘आर्थिक अनुशासनका हिसावले उहाँ अब्बल हुनुहुन्छ । कसैले खोट लगाउन सक्दैनन् । जनताले दुई दुई पटक जिताइसकेका छन् ।’ रावतले भने–‘तर नामलाई लिएर कहिले काही ब्याङ्गग्य गर्छन् ।’ रावतका अनुसार, कतिपय सन्चार माध्यमले त ‘नामै छ लुट बहादुर, यिनले के गर्लान’ भन्दै समाचार समेत बनाएका थिए ।
यस्ता कुराका बारेमा मेयर स्वयं जानकार छन् । तर त्यसको कुनै प्रवाह छैन । मेयर रावत भन्छन्,–‘बुवा, आमाले नाम राख्नुभयो । कानुनीरुपमा त्यही दर्ज भइसकेपछि मैले केही गर्न मिलेन ।’ मेयर रावतले आफुले कुनै कुरा नलुटेकाले नाम लुटबहादुर रहँदैमा केही फरक नपरेको बताए । चुनाव ताका पार्टी अध्यक्ष केपी ओली कोहपुरको सभामा बोल्दै भनेका थिए,–‘उहाँ कुनै कुरा नलुट्ने नामको मात्र लुटबहादुर हुन्छ ।’ ओलीले त्यसो भनेपछि जनसभामा हाँसो उठेको थियो ।