लेकबेसीमा प्रस्तावित औद्योगिक क्षेत्रको निरीक्षण,औद्योगिक क्षेत्र बन्नेमा आशावादी छौं–मेयर सुनार


सुर्खेत उद्योग वाणिज्य संघमा भएको छलफल ।

सुर्खेत – लेकबेसी नगरपालिकामा बन्ने कर्णालीको प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निरीक्षण गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सहायक निर्देशक ईन्जिनियर रामाशंकर जयसवाल नेतृत्वको प्राविधिक टोली आज औद्योगिक क्षेत्र प्रस्ताव गरिएको ठाउँ चौरासेमा पुगेका थिए ।

उक्त ठाउँमा एक हजार बिघाहमा औद्योगिक क्षेत्र प्रस्ताव गरिएको छ । त्यहाँ पुगेर सरोकारावालासंग प्राविधिक टोलीले छलफल गरेको लेकबेसी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले जानकारी दिए । प्राविधिक टोली आएपछि औद्योगिकक्षेत्र बन्ने आशा पलाएको बताउँदै उनले भने,–‘मलाई लाग्छ उहाँहरु पनि यसमा सकारात्मक हुनुहुनेछ ।’

केन्द्र सरकारले चयन गरेका औद्योगिक क्षेत्र निर्माणको सूचीमा लेकबेसी पनि परेको थियो । कर्णाली प्रदेशके ठुलो औद्योगिक क्षेत्र बन्ने प्रस्तावनले स्थानीय खुसी छन् । नगरप्रमुख सुनारले स्थानीयस्तरमा गर्ने सबै सहयोग गर्न आफुहरु तयार रहेको उनले बताए । ‘लेकबेसीमा औद्योगिक क्षेत्र बन्नु असाध्यै खुसीको कुरा हो । त्यसका लागि हामी जस्तोसुकै सहयोग गर्न तयार छौं ।’– उनले भने । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको प्राविधिक टोलीले आजै सुर्खेतका उद्योगी, व्यवसायीसंग छलफल गरेको छ ।

प्रकाशित मितिः     5:43:31 PM  |