सांसद र उपमेयरलाई गाभर भ्यालीले लोभ्यायो


नेपालगन्ज – प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर उमा थापा, जिल्ला समन्वय समितिका सदस्य चेतबहादुर घर्तीले आज मंगलवार गाभर भ्यालीको पर्यटकीय क्षेत्र अवलोकन गरेका छन् । गाभर क्षेत्रको पर्यापर्यटकिय स्थलहरू लेमन पार्क, पारिजात बगानको अवलोकनका साथै बाँके राष्ट्रिय निकुञ्जमा जिप सफारी गरे ।

गाभर क्षेत्रले प्रदेश सांसद नमुना, उपमेयर थापा र जिल्ला समन्वय समिति सदस्य घर्तीलाई लोभ्यायो । उनीहरुले बाँके जिल्लामै यत्तिका राम्रो पर्यटकीयक्षेत्र भएको बताउँदै यसलाई अझ अगाडी बढाउनुपर्नेमा जोड दिए । उनीहरुले सम्बन्धित क्षेत्रबाट गाभरलाई हुनुपर्ने सहयोगका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

गाभर क्षेत्र सय गन्तव्यमा परेको पर्यटकीयस्थल हो । यहाँ पर्यापर्यटनको प्रर्बधन गरिएको छ भने होमस्टेको आर्कषण छ । होमस्टे एशोसिएशनका केन्द्रीय उपाध्यक्ष कृष्ण चौधरीले जनप्रतिनिधिको आगमनले पर्यटकीयस्थल बिस्तारको अभियानमा रहेका स्थानीयको मनोबल बढाएको बताए ।

प्रकाशित मितिः     7:18:20 PM  |