सामाजिक सुरक्षा स्वच्छा होइन बाध्यकारी, बाँकेका धेरै उद्योग आवद्ध हुन बाँकी


नेपालगन्ज । बाँकेका धेरै उद्योग प्रतिष्ठानमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सकेका छैनन् । कतिपयले प्रक्रिया नबुझेर त कतिले अटेरी गरेर उक्त कोषमा आवद्ध हुन नमानेको पाइएको छ । मजदुर संगठनले बिशेष मझौला उद्योग प्रतिष्ठानले अटेरी गरेका छन् । त्यसमा ठुला उद्योग पनि छन् ।

सामाजिक सुरक्षा कोषले आज शुक्रवार नेपालगञ्जमा आयोजना गरेको एक अन्तरक्रियामा मजदुर नेता बसन्त मल्ले धेरै उद्योग प्रतिष्ठान कोषमा आवद्ध हुन बाँकी रहेको बताए । उनले भने,–‘धेरैलाई यस सम्बन्धमा बुझाउन बाँकी छ । मलाई लाग्छ मझौला उद्योग प्रतिष्ठान सबै कोषमा आवद्ध हुन सकेका छैनन् ।’

नेपाल इट्टा उद्योगी, व्यवसायी संघ बाँकेका कार्यालय प्रमुख सुर्य पौडेलले सामाजिक सुरक्षा कोष स्वच्छा वा बाध्यकारी के हो भन्ने बिषयमा भ्रम रहेको बताउँदै बाध्यकारी हुने अवस्था आए सबै उद्योगहरु दर्ता हुने निश्चित भएको बताएका छन् । बरिष्ठ उद्योगी कन्हैयालाल बैद्यले सामाजिक सुरक्षा कोषमा आवद्ध भए पनि यसको कार्यालय नेपालगञ्जमा किन नराखेको भन्दै प्रश्न गरेका थिए ।

बैद्यले भने,–‘दुई महिना भयो परिचयपत्र आएको छैन । यसको कार्यालय यहाँ पनि देखिदैन ।’ उनले सामाजिक सुरक्षा कोषका बिषयमा देखिएका अन्यौलता हटाउनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सामाजिक सुरक्षा कोष क्रमश सबै उद्योगमा लागु हुने बताए ।

कार्यक्रममा बोल्दै सरकारले गत वर्षदेखि लागु गरेको सामाजिक सुरक्षा कोष स्वच्छा नभई बाध्यकारी भएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले बताएका छन् । उनले भने यो बाध्यकारी भए पनि रोजगारदाता र योगदानकर्ता दुवै पक्षको जित हुने निश्चित भएको बताए ।

प्रकाशित मितिः     १३ मंसिर २०७६, शुक्रबार १६:१०  |