जानकीमा रहेको पश्चिमकै ठुलो छड उद्योगले उत्पादन शुरु गर्दै


नेपालगञ्ज १४ मंसिर – तीन अर्ब लगानीमा अम्बे समूहले जानकी गाउँपालिका वडा नं. ६ मा स्थापना गरेको डन्डी उद्योग सन्चालन हुने अवस्थामा पुगेको छ । मंसिर २० गते औपचारिक पूजा गरेर उत्पादन शुरु गर्ने उद्योगको तयारी छ । यो उद्योग पश्चिम नेपालकै सबैभन्दा ठुलो उद्योग हो । उद्योगबाट उत्पादित डन्डी एक महिनाभित्र बजारमा आउनेछ ।

यो समूहको दोस्रो डन्डीको प्लान्ट हो । भैरहवाबाट यसअघि नै अम्बे ब्राण्डमा डन्डी उत्पादन गरेर बिक्री गर्दै आएको छ। जानकीमा रहेको उद्योग भैरहवाकोे भन्दा पनि ठुलो क्षमताको हो ।  जय अम्बे उद्योगका संचालक शिवाज न्यौपानेले मंसिर २० गते औपचारिक पूजा गरेर उत्पादन सुरू हुने बताउँदै एक महिनाभित्रै व्यवसायिक उत्पादन सुरु हुने जानकारी दिए ।  उक्त उद्योगले दैनिक सात सय मेट्रिक टन फलामे छड उत्पादन गर्ने लक्ष्य राखेको छ ।

जुन पश्चिम नेपालमै सबैभन्दा ठुलो छड उत्पादक उद्योग बन्दै छ । अम्बे समूहको रुपन्देहीमा पहिल्यैबाट स्टिल उद्योग सन्चालनमा छ । तर त्यो भन्दा अहिले गनापुरमा बन्दै गरेको उद्योगको उत्पादन क्षमता झण्डै दोब्बर हो । ‘पूर्वाधार फिनिसिङ्गको काम गरिरहेका छौं ।’ –जय अम्बे स्टिल उद्योगका फ्याक्ट्री इन्चार्ज अनुज कुमार श्रेष्ठले भन्नुभयो–‘असारबाट उत्पादन सुरु गरिहाल्ने लक्ष्य राखेका छौं ।’

देशकै प्रतिष्ठित औद्योगिक समूह अम्बेले रु ३ अर्व लगानीमा डेड वर्षदेखि गनापुरमा स्टिल उद्योगको पूर्वाधार निर्माणको काम गरिरहेको छ । उक्त उद्योग पूर्णक्षमतामा सन्चालन हुँदा दैनिक सात सय मेट्रिक टन फलामे छड उत्पादन गर्नेछ । तर सुरुवातको चरणमा क्षमता अनुसार उत्पादन हुने गाहे पर्ने प्राविधिकहरु बताउँछन् । उक्त उद्योगले ८ एमएमदेखि ४० एमएमसम्मको छड उत्पादन गर्नेछ । ४० एमएमको छडहरु जलबिद्युत आयोजना जस्ता ठुला पूर्वाधार निर्माणको काममा लगाउन प्रयोग हुन्छ । जलबिद्युत आयोजना जस्ता कामहरु बढ्दै गएकाले उक्त छडको माग बढ्ने देखेर अम्बे स्टिलले उत्पादन गर्न लागेको हो ।

अम्बे समूहको रोजाईमा नेपालगन्ज किन ?

अम्बे समूहले नेपालगन्जमा यतिका ठुलो उद्योग किन खोेल्यो ? भन्ने प्रश्नको सटिक जबाफ दिदै श्रेष्ठले भने,–‘पश्चिम नेपालमा पुर्वाधार विकासका काम भइरहेका छन् अझ धेरै त हुन बाँकी नै छन् । त्यसका लागि आवश्यक पर्ने सामाग्रीको आपुर्ती पूर्वी नेपालबाट लैजानुभन्दा यही उद्योग खोल्दा प्रभावकारी हुन्छ ।’ पश्चिम नेपालमा पूर्वाधार विकासको प्रशस्त सम्भावना देखेर र त्यसको ‘ट्रान्जिट’ नेपालगन्ज भएकाले यहाँ उद्योग स्थापना भएको हो । सीमा नाका नजिक हुनु र भारतबाट कच्चापदार्थ भित्रा्उन सहज हुने भएका कारण पनि गनापुरक्षेत्रमा उद्योग खोल्ने क्रम बढेको छ ।

अम्बे समूह पुर्नरुपमा सन्चालन हुँदा दक्ष र अदक्ष गरी चार सय जनाले रोजगारी पाउने छन् । अम्बे समूहले नेपालीलाई रोजगारीका लागि उच्च प्राथमिकता दिने जनाएको छ । तर छड उत्पादन जस्तो प्राविधिक बिषयमा तत्काल दक्ष जनशक्ति पाउन मुस्किल हुने अवस्था भए अन्यत्रबाट कामदार मगाउनुपर्ने बाध्यता छ । तर पनि उक्त उद्योग सन्चालन पछि धेरैले रोजगारी पाउने निश्चित छ ।

प्रकाशित मितिः     9:20:17 AM  |