सामाजिक सुरक्षा कोषमा प्रदेश ५ बाट ६ सय १० उद्योग र २२ सय मजदुर सूचिकृत


बाँके १३ मंसिर –प्रदेश नं. ५ मा हालसम्म ६ सय १० जना रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका छन् । प्रदेश नं. ३ र प्रदेश नंं. १ पछि प्रदेश नं. ५ मा सबैभन्दा धेरै उद्योग प्रतिष्ठान सूचिकृत भएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले
बताए । उपनिर्देशक रेग्मीका अनुसार, सबैभन्दा धेरै प्रदेश नं. ३ मा ७ हजार ४६ रोजगारदाता र ८७ हजार २ सय ४२ जना योगदानकर्ता सूचिकृत भएका छन् । त्यस्तै प्रदेश नं. १ मा १७ सय ६ वटा रोजगारदाता र १५ हजार ७ सय ३५ जना योगदानकर्ता सूचिकृत भएका छन् । प्रदेश नं. ५ मा ६ सय १० रोजगारदाता र २२ सय ७ योगदानकर्ता दर्ता भएको रेग्मीले बताए ।

प्रदेश नं. २ मा ४ सय १३ रोजगारदाता र ६ हजार ८ सय ५२ योगदानकर्ता, गण्डकी प्रदेशमा ४ सय ८७ रोजगारदाता र ३ हजार ११ योगदानकर्ता, सुदूरपश्चिम प्रदेशमा १ सय १० रोजगारदाता र ४ सय ९० योगदानकर्ता सूचिकृत भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा रोजगारदाता १ सय ५ र १ सय ५० जना योगदानकर्ता दर्ता भएका छन् ।

धेरै उद्योग प्रतिष्ठानमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सकेका छैनन् । कतिपयले प्रक्रिया नबुझेर त कतिले अटेरी गरेर उक्त कोषमा आवद्ध हुन नमानेको पाइएको छ । मजदुर संगठनले बिशेष मझौला उद्योग प्रतिष्ठानले अटेरी गरेका छन् । त्यसमा ठुला उद्योग पनि छन् ।

सामाजिक सुरक्षा कोषले आज शुक्रवार नेपालगञ्जमा आयोजना गरेको एक अन्तरक्रियामा मजदुर नेता बसन्त मल्ले धेरै उद्योग प्रतिष्ठान कोषमा आवद्ध हुन बाँकी रहेको बताए । उनले भने,–‘धेरैलाई यस सम्बन्धमा बुझाउन बाँकी छ । मलाई लाग्छ मझौला उद्योग प्रतिष्ठान सबै कोषमा आवद्ध हुन सकेका छैनन् ।’

नेपाल इट्टा उद्योगी, व्यवसायी संघ बाँकेका कार्यालय प्रमुख सुर्य पौडेलले सामाजिक सुरक्षा कोष स्वच्छा वा बाध्यकारी के हो भन्ने बिषयमा भ्रम रहेको बताउँदै बाध्यकारी हुने अवस्था आए सबै उद्योगहरु दर्ता हुने निश्चित भएको बताएका छन् । बरिष्ठ उद्योगी कन्हैयालाल बैद्यले सामाजिक सुरक्षा कोषमा आवद्ध भए पनि यसको कार्यालय नेपालगञ्जमा किन नराखेको भन्दै प्रश्न गरेका थिए ।

बैद्यले भने,–‘दुई महिना भयो परिचयपत्र आएको छैन । यसको कार्यालय यहाँ पनि देखिदैन ।’ उनले सामाजिक सुरक्षा कोषका बिषयमा देखिएका अन्यौलता हटाउनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सामाजिक सुरक्षा कोष क्रमश सबै उद्योगमा लागु हुने बताए ।

कार्यक्रममा बोल्दै सरकारले गत वर्षदेखि लागु गरेको सामाजिक सुरक्षा कोष स्वच्छा नभई बाध्यकारी भएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले बताएका छन् । उनले भने यो बाध्यकारी भए पनि रोजगारदाता र योगदानकर्ता दुवै पक्षको जित हुने निश्चित भएको बताए ।

सामाजिक सुरक्षा योजना भनेको सामाजिक सुरक्षा कोष अन्तर्गत संचालन हुने एउटा कार्यक्रम हो । सामाजिक सुरक्षा कोष भनेको सञ्चय कोष जस्तै एउटा छुट्टै कोष हो । यो कोषमा औपचारीक तथा अनौपचारीक क्षेत्रमा आफ्नो श्रम बेचिरहेका श्रमिकहरु आवद्ध हुन्छन् । यस कोषमा काम गर्ने श्रमिक र काम दिने रोजगार दाताले हरेक महिना आफ्नो खातामा रकम जम्मा गर्छन ।

प्रकाशित मितिः     1:14:53 PM  |