‘सहकारीले उत्पादनमुलक कामका लागि ऋण खोजे जमानी बस्न तयार’


नेपालगञ्ज १४ मंसिर – खजुरा गाउँपालिकाका प्रमुख किस्मत कक्षपतिले गाउँपालिकाका सहकारीलाई उत्पादनमुलक काममा लाग्न सुझाव दिएका छन् । सामुहिक खेती, पशुपालन जस्ता क्षेत्रमा लगानीका लागि सहुलियत ऋण दिलाउन बैंक तथा वित्तीय संस्थासंग सहजिकरण गर्न तयार रहेको गाउँपालिकाका अध्यक्ष कक्षपतिले बताए ।

‘सहकारीको संख्या धेरै भयो । धेरै संख्याले मात्र परिणाम दिदैन । अब परिणाम दिने काम गरौं ।’ कक्षपतिले भने–‘त्यसका लागि गाउँपालिका सहयोग गर्न तयार छ ।’ कक्षपतिले सहुलियत ऋण दिलाउने बिषयमा राष्ट्रिय वाणिज्य बैंकका उच्चपदस्थ कर्मचारीसंग एकचरण छलफल गरिसकेका छन् । सहकारीले इच्छाशक्ति दिए ऋणका लागि जमानी बस्न तयार रहेको कक्षपतिले बताए ।

शनिवार कक्षपतिले एकैदिन तीनवटा सहकारीको साधारणसभा उद्घाटन गरेका थिए । उद्घाटन गरेका मध्ये हातेमालो र सानाकिसान सहकारी मर्जरमा गएका छन् । गाउँपालिकाका सहकारीलाई उत्पादनमुलक काममा लाग्न र संख्यात्मकरुपमा धेरै भएर परिणाम दिने काम हुन नसके मर्जरमा जान कक्षपतिले सुझाव दिए । उनले सहकारीको काम बचत संलकन गर्ने र ऋण लगानी गर्ने मात्र नभएको बताए । कक्षपतिले सहकारीलाई पारदर्शी बन्न सुझाव दिएका छन् ।

प्रकाशित मितिः     १४ मंसिर २०७६, शनिबार १७:२९  |