कागजको झोलाको माग बढ्दै


अमरराज आचार्य

दाङ- जिल्लामा उत्पादन भएको कागजको झोलाको माग बढ्दै गएको छ । अहिले झोलाको माग जिल्लामा मात्र नभई जिल्ला बाहिरसमेत माग हुने गरेको छ । घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीमा रहेको शान्ति पेपर ब्याग उद्योगले २०७४ भदौ १ गतेबाट उत्पादन सुरु गरेको थियो । अहिले कागजको झोलाको माग बढ्दै गएको उद्योगका सञ्चालक अमितसिंह ठकुरीले जानकारी दिए ।

अहिले भोला जिल्लाका सहरहरू घोराही, तुलसीपुर, नारायणपुरलगायत स्थान तथा जिल्ला बाहिर पोखरा, धनगढी, मोरङ, वीरगन्ज, जनकपुरसम्म पठाउने गरेको ठकुरीले बताए । “मागअनुसार हामीले उत्पादन गरेर बाहिरी जिल्लासम्म पठाउने गरेका छौं,” ठकुरीले भने । दैनिक २ हजार ५ सयसम्म झोला उत्पादन गर्ने क्षमता रहेको उनको भनाइ छ । तर, अहिले उत्पादन क्षमतअनुसार उत्पादन भने नभएको उनले बताए । “विभिन्न समस्याका कारण अहिले क्षमताअनुसार झोला उत्पादन गरेका छैन,” ठकुरीले भने । कागजबाट उत्पादन भएको झोलाको मूल्य साइजअनुसार ७ रुपैयाँदेखि १० रुपैयाँसम्म पर्ने उनले बताए । झोलामा ३ देखि ५सम्म केजीसम्म बोक्न सकिनेछ । झोलामा कम्पनीहरूले आफ्नो नाम राखेर छाप्न सक्ने ठकुरीले बताए ।

सुरुका दिनमा हातले उत्पादन सुरु गरेका उनले अहिले मेसिनबाट उत्पादन गर्ने सुरु गरेका छन् । यसका लागि उनले करिब २५ लाखसमेत लगानी गरेका थिए । “मेसिनबाट झोला उत्पादन गर्ने थालेपछि सहजता भएको छ,” ठकुरीले भने । सुरुका दिनमा धेरै चुनौतीहरू आएको बताए । चुनौतीहरूलाई सामना गर्दै अगाडि बढेको उनको भनाइ छ । सुरुमा सार्थीहरूसँगै मिलेर सञ्चालनमा ल्याए पनि अहिले उनी एक्लै उद्योग सञ्चालन गर्दै आएका छन् ।

“सार्थीहरूले छोड्दै जानुभयो अहिले एक्लै सञ्चालन गदै आएको छु,” ठकुरीले भने । सुरुका दिनमा कतिपय स्थानमा सामान पठाए पनि हालसम्म पनि रकम पाउन सकेका छैनन । “ऋण लिएर सुरु गरेको उद्योगमा काम गरेको रकम नपाउदा थप समस्या परेको थियो,” ठकुरीले भने । उनले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका छन् । आफूसँगै उनले अहिले ७ जनालाई रोजगारसमेत प्रदान गरेका छन् । प्लास्टिकको विकल्पमा यसको प्रयोग गर्नुपर्छ भनेर आफू कागजको झोला उद्योगतर्फ आकर्षण भएको उनले बताए ।

“प्लास्टिकको अत्याधिक प्रयोगले वातावरण प्रदूषणसमेत भएको छ,” ठकुरीले भने । यसको विकल्पमा कागजको झोला प्रयोग गर्ने समेत आग्रह गरेका छन् । प्लास्टिकको झोलाभन्दा रकममा केही महँगो भए पनि वातावरणको हिसावले राम्रो उपयुक्त रहेको उनको भनाइ छ । आफ्नो स्थानमा नै केही नया काम गर्नुपर्छ भनेर यसतर्फ लागेको उनको भनाइ छ । जागिरको खोजिमा हिँड्नुभन्दा आफैंले केही गर्नुपर्छ भनेर परिवारको सल्लाहामा नै उद्योग सुरु गरेका थिए । यस क्षेत्रमा यस प्रकारको उद्योग नरहेको समेत ठकुरीको दाबी छ । “यस क्षेत्रमा कागजबाट झोला उत्पादन गर्ने उद्योग पहिलो उद्योग हो,” ठकुरीले भने । आफू भारतमा बस्दा कागजको झोला निर्माण गरेको देखेको र नेपालमा पनि यस प्रकारको काम गर्न सकिन्छ भनेर सुरु गरेको उनी बताउँछन् ।

उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ भने भारतबाट ल्याउने गरेका छन् । भारतबाट कच्चा पदार्थ ल्याउनु पर्दा समयमा आइनपुग्ने समस्या रहेको बताए । “माग गरिए पनि समयमा कच्चा पदार्थ आउँदैन,” ठकुरीले भने । कच्चा पदार्थ आउन ढिला हुँदा अर्डर आएको समयमा प्रदान गर्न नसकिने गरेको बताए । उनले यसरी सञ्चालन गरेको उद्योगका लागि हालसम्म कुनै पनि निकायले सहयोग नगरेको उनको भनाइ छ । “हालसम्म कसैबाट पनि केही सहयोग प्राप्त भएको छैन,” ठकुरीले भने । सहयोग प्रदान नगरे पनि वातावरण प्रदूषण रोक्नका लागि सहयोग मिल्ने कार्य भएकाले प्रोत्साहन गर्न उनको आग्रह रहेको छ ।  कारोवारबाट साभार

प्रकाशित मितिः     १९ मंसिर २०७६, बिहीबार १०:३०  |