ग्याँस उद्योग खोल्ने भन्दै खेतमा बुलेट झारियो, स्थानीय र गाउँपालिकासंग समन्वय छैन


नेपालगञ्ज १९ मंसिर – खजुरा गाउँपालिका–३ मा ग्याँस उद्योग खोल्ने भन्दै एउटा उद्योगले खेतमा ग्याँसका दुईवटा बुलेट झारेको छ । कपास विकास समितिको दक्षिणतर्फको पर्खालसंग सटेको जग्गामा बुलेट झारेपनि ग्याँस उद्योग कस्ले खोल्न लागेको हो भन्नेमा स्थानीयबासिन्दा र गाउँपालिकाका पदाधिकारीलाई जानकारी छैन् । ।

खेतको दक्षिणपट्टी पाँचसय बढि घरधुरी भएको धौलागिरी गाउँ छ । उत्तरतर्फ कपास विकास समिति रहेको छ । कपास पिकास समितिकै साँघुरो बाटो भएर बुलेट लगिएको थियो । सानो उद्योगका लागि पनि अपायक पर्ने ठाउँमा ग्याँस जस्तो संवेदनशिल उद्योग कस्ले खोल्ने योजना बनायो भन्नेमा स्थानीय अचम्मित छन् । बुलेट झार्दा खेतमै रहेकी धौलागिरीकी बासिन्दा समेत रहेकी वडा सदस्य देउमाया थापाले भनिन्,–‘सम्बन्धित मान्छे कोही पनि आएका छैनन् । झार्नेले पनि ग्याँस उद्योग खोल्ने हो भने । बुलेट नै ओसारेका कारण ग्याँस उद्योग नै खेल्नेमा हामी ढुक्क छौं ।’

ग्याँस उद्योग खोल्ने भन्दै स्थानीयबासिन्दाको चार बिघा जमिन खरिद गरिएको छ । उद्योग सन्चालकले स्थानीयबासिन्दासंग समन्वय गरेको पाइएको छैन भने गाउँपालिकाबाट अनुमति नलिएको वडा नं. ३ का अध्यक्ष कान्तु गौतमले बताए । उनले भने,–‘स्थानीयले भनेपछि म पनि बिहिवार बुलेट हेर्न गएको थिए । यदि साच्चिकै ग्याँस उद्योग खोल्ने नै लागेको हो भने हामीसंग कुनै प्रकारको समन्वय र अनुमति लिएको छैन् ।’ उनले पूर्वाधार नभएको र बस्ती नजिक भएको ठाउँमा ग्याँस जस्तो संवेदनशिल उद्योग कस्ले खोल्दै छ भनेर बुझ्ने बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले गाउँपालिकाले उद्योग,कलकारखानालाई प्रोत्साहन गर्ने नीति बनाएको बताए । तर सन्चालन हुन आउने उद्योगले अनुमति लिनुपर्ने र स्थानीयसंग समन्वय गर्नुपर्ने बताए । उद्योग लगायत बिभिन्न क्षेत्रको विकासका लागि गुरुयोजना तयार गर्न लागिएको बताउँदै कक्षपतिले भने,–‘तर ग्याँस उद्योग साच्चिकै खोल्न लागेको होकी होइन बुझ्छौ । कुनै पनि उद्योग हाम्रो सम्पर्कमा आए हामी पूर्वाधारको काममा सहयोग गर्दिन्छौ । तर त्यसका लागि समन्वय आवश्यक छ ।’

गाउँपालिकाले स्थानीयसंग समन्वय, अनुमति र वातावरणिय परिक्षण जस्ता काम भए नभएको भएको चासो दिएको छ । वडा अध्यक्ष गौतमले बुटेल झार्ने सम्बन्धित व्यक्तीले ग्याँस उद्योग खोल्ने हो वा अन्य प्रयोजनका लागि ल्याइएको हो भन्ने खुलाउनुपर्ने बताए । त्यहाँ ल्याएको बुलेटमा चण्डेश्वरी ग्याँस उद्योग प्रालि थापागाउँ बनेपा उल्लेख छ ।

प्रकाशित मितिः     १९ मंसिर २०७६, बिहीबार १४:३५  |