बाँके(खजुरा) : साना उद्योगलाई एकिृकत गरी उनीहरुको उत्पादन र उत्पादकत्व अभिबृद्ध गर्ने उदेश्यले बाँकेको खजुरा गाउँपालिका–५ पुरनैनामा औद्योगिक ग्राम बन्ने भएको छ । २०७६ असोज ५ गतेको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा ७ सय ५३ स्थानीय तह मध्ये ३२ वटा स्थानीय तहमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार सीमित गाउँपालिकामा खजुरा पनि परेको हो । प्रदेश ५ मा औद्योगिक ग्राम बन्न लागेको गाउँपालिका पनि खजुरा नै हो । औद्योगिक ग्रामको जग्गा व्यवस्थापन भइसकेको छ भने सोको डिपिआर र वातावरणीय परीक्षण जस्ता प्रारम्भीक चरणको काम पनि शुरु हुँदै छ । ‘डिपिआर जस्ता काम गर्नका लागि रु २० लाख निकासा भइसकेको छ । अब काम अगाडी बढ्छ ।’– खजुरा गाउँपालिकाका प्रमुख किस्मत कक्षपतिले भने ।
गाउँपालिका प्रमुख कक्षपतिका अनुसार, यस आर्थिक वर्षमा पहिलो चरणको काम हुने छ भने अर्को वर्ष थप बजेट आएसंगै पूर्वाधार निर्माणको काम हुने छ । ‘सरकारको यो निर्णयबाट हामी उत्साहित छौं । गाउँपालिकाका तर्फबाट सबै सहयोग हुन्छ ।’ कक्षपतिले भने–‘ओद्योगिक ग्रामले खजुरालाई आर्थिक उत्पादनसंग जोडने छ ।’
सरकारले देशमा रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई विदेशिनबाट रोक्न यस्तो ग्रामको विकास गर्न लागिएको हो । हरेक तहमा ससाना घरेलु उद्योग स्थापनाका लागि उचित वातावरणको व्यवस्थापन गर्न ती ग्रामको विकास गर्ने अवधारणा ल्याइएको हो । उक्त ग्राम स्थापनाका लागि १ सयदेखि २ सय रोपनी क्षेत्रफलको जमिनको व्यवस्था तथा बिजुली, बाटो, पानीलगायतका पूर्वाधार मन्त्रालयले तयार गर्नेछ । उद्योगी र व्यवसायीले सञ्चालन गर्न खोजेका उद्योगका बारे स्थानीय तहमा पेश गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले ती ग्राममा स्थान उपलब्ध गराउने छ।